अर्थतन्त्र सही दिशामा छ, श्रीलंका जस्तो हुन्छ भनेर राजनीति नगरौंः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सही दिशा उन्मुख रहेको दाबी गरेका छन् ।

सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले अर्थतन्त्र सुधारका लागि लिइएको नीतिहरु ठीक भएकै कारण अर्थतन्त्र सही दिशा उन्मुख भएको दाबी गरे ।

पछिल्ला केही महिना देशको अर्थतन्त्र खराब बन्दै गएपछि विज्ञहरुले समयमै उपयुक्त कदम नचाले निकट भविष्यमै श्रीलंकाको जस्तै टाट पल्टिने चेतावनी दिइरहेका बेला मन्त्री शर्माले यस्तो दाबी गरेका हुन् ।

‘अर्थतन्त्र कमजोर बन्दै गएपछि विभिन्न वस्तुको आयात गर्दा नगद मार्जिन राख्नुपर्ने नीति लिइयो,’ उनले भने, ‘त्यसको प्रभाव अहिले देखिन थालेको छ ।’

उनका अनुसार अनुत्पादक तथा विलासी वस्तुको आयात अत्यधिक भएपछि केही वस्तुको आयातमा कडाइ गरिएको हो र केही समयका लागि निरुत्साहित गरिएको हो ।

‘देशको अर्थतन्त्र सही दिशाउन्मुख छ, तर नियोजित रुपमा श्रीलंका जस्तो टाट पल्टिन लागेको भन्दै केहीले राजनीतिकरण गर्न खोजेका छन्, जनतामा यस्को भ्रम छरेर आतंकित नबनाउन म सबैलाई आग्रह गर्न चाहन्छु,’ उनले भने ।

चालु आवको फागुन मसान्तसम्म ११ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको र जुन ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको मन्त्रीको भनाइ छ । नेपालको कुल वैदेशिक ऋण १८ खर्ब रुपैयाँ भएको र चालु आर्थिक वर्षमा विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि सरकारले ४० अर्ब रुपैयाँ मात्रै खर्च गर्नुपर्ने अवस्था रहेकाले देशको अर्थतन्त्र कुनै पनि कोणबाट श्रीलंकाको जस्तो हुनै नसक्ने मन्त्री शर्माले जिकिर गरे ।

‘श्रीलंकाको समस्या अत्यधिक मात्रामा वैदेशिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा छ, तर हाम्रोमा त्यस्तो समस्या छैन, आयातमा गरिएको कडाइका कारण विदेशी मुद्रामा सञ्चिति असर गर्दैन र अर्थतन्त्र सकारात्मक लयमा अघि बढ्न थालेको छ,’ उनले भने ।

उक्त नीतिले अर्थतन्त्र सही दिशामा जान थालेको उनको दाबी छ । गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह केही घटे पनि आगामी दिनमा बढ्ने उनको विश्वास छ ।

अर्थमन्त्रालयका अनुसार चालु आवको फागुन मसान्तसम्मका ६ खर्ब ३१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४.९ प्रतिशतले कम हो । फागुन महिनामा मात्रै ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको भन्दै आगामी दिन सुखद् रहने मन्त्रीको दाबी छ ।


क्लिकमान्डु