दुबईमा नेपालीले भिल्ला किन्दा र हुण्डी बढ्दा रेमिट्यान्स घट्योः अर्थमन्त्री



काठमाडौं । पछिल्लो समय मुलुकमा विदेशी मुद्रा सञ्चिति कम हुँदै गएको छ ।

अर्थमन्त्रालयका अनुसार फागुन मसान्तसम्मको तथ्यांक अनुसार हाल ६.७ महिनाको आयात धान्नका लागि मात्रै हामीसँग विदेशी मुद्रा सञ्चिति छ । जुन गत असार महिनाको तुलनामा १७ प्रतिशत कम हो ।

यसरी विदेशी मुद्रा सञ्चिति घट्दै जानुमा अर्थमन्त्रीले रेमिट्यान्समा आएको कमीलाई मुख्य कारक मानेका छन् ।

सोमबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले रेमिट्यान्स घट्नुमा ३ वटा कारण औल्यांए ।

उनले देखेको पहिलो कारण हो, विदेशमा श्रमिकले लिएको कर्जाको भुक्तानी ।

‘कोरोना महामारीको समयमा कतिपय देशमा श्रमिकलाई कम्पनीहरुले कर्जा पनि दिएको विज्ञहरुले मलाई बताएका छन्, अहिले उनीहरुले त्यो लोन चुक्ता गर्दा रेमिट्यान्स घटिरहेको मैले जानकारी पाएको छु ।’

मन्त्री शर्माले रेमिट्यान्स घट्नुको दोस्रो कारण हुण्डीलाई मानेका छन् ।

‘रेमिट्यान्स औपचारिक च्यानलबाट आउनुको साटो हुण्डीमार्फत् आएको मैले सूचना पाएको छु । मैले पाँच महिनाअघि नै यस विषयमा अध्ययन गर्नुपर्छ भनेको थिए । हुण्डीको जालो ग्रामीण तहसम्म पुगेको मैले पाएको छु ।’

त्यसैगरी मन्त्री शर्माले रेमिट्यान्स घट्नुमा दुबईमा नेपालीले भिल्ला किन्नु कारण भएको बताए ।

‘मैले दुबईमा कैयन नेपालीहरुले भिल्ला किनेको भन्ने सुनेको छु । धेरै पैसा त्यसमा पनि खर्च भएको छ,’ उनले भने ।


क्लिकमान्डु