राष्ट्र बैंक ऐन अनुसार नै गभर्नरलाई कारबाही गरिएको हो: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाला राष्ट्र बैंकका गभर्नरमाथि सरकारले राष्ट्र बैंक ऐन अनुसार नै छानविन गरिएको बताएका छन् । गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्ने निर्णय गरेपछि पहिलोपटक पत्रकार सम्मेलन गरेका अर्थमन्त्री शर्माले पत्रकारहरुको प्रश्नमा यस्तो जवाफ दिए ।

पत्रकारहरुले राष्ट्र बैंकको गभर्नर हटाउनुपर्ने कारण के हो ? भनेर अर्थमन्त्री शर्मालाई प्रश्न गरेका थिए ।

‘राष्ट्र बैंक ऐन अनुसार नै गभर्नरमाथि छानविन गरिएको हो,’ मन्त्री शर्माले भने, ‘सर्बोच्च अदालतका न्यायधीसको संयोजकत्वमा छानविन समिति बनाइसकिएको छ । एक महिनामा समितिले प्रतिवेदन बुझाउँछ । र, प्रतिवेदनका आधारमा सरकारले निर्णय लिने भएकाले यस बारेमा अहिले नै थप केही नबोलौं ।’

तोकिएको भन्दा बढी कर्जा विस्तार हुँदा राष्ट्र बैंक चुपचाप बसेको उनले आरोप लगाए ।

‘मैले पटक पटक कर्जा विस्तार संकुचन गर्न आग्रह गर्दासमेत राष्ट्र बैंक नेतृत्वले सुन्दै सुनेन,’ मन्त्री शर्माले भने, ‘यो काम त राष्ट्र बैंकको हो नि, अर्थ मन्त्रालयको त होइन नि ।’

सहुलियपूर्ण कर्जामा ब्यापक अनियमितता भएको हुनसक्ने भन्दै मन्त्री शर्माले गभर्नरमाथि खनिए ।

‘यति मोटो रकम रिफाइनान्स र सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ तर त्यो कहाँ गयो भेटिँदैन,’ उनले भने, ‘हामीले यस्तो कर्जा कहाँ गयो भनेर पनि खोज्छौं ।’

शर्माले देशको अर्थतन्त्रका बारेमा बढी राजनीति भएको जीकीर गरे ।

‘विदेशी मुद्राको संचिती सामान्य अवस्था रहेको छ, सबै परिसूचक सामान्य रहेका छन्,’ उनले भने, ‘अर्थतन्त्रमा कुनै संकट आएको छैन । अर्थतन्त्र खराब छ भनेर व्यवसायी र जनतालाई भ्रम छर्ने काम भइरहेको छ । म सबैलाई अर्थतन्त्रका बारेमा राजनीति नगर्न आग्रह गर्न चाहन्छु ।’

गभर्नरले सहयोग नगरेपछि उनलाई कानुन अनुसार कारबाही गरिएको मन्त्री शर्माले बताए ।

‘धेरै कुरा अहिले भन्न मिल्दैन, छानबिन गर्न कमिटी बनाएका छौं,’ शर्माले भने ‘उक्त कमिटीको प्रतिवेदनले सबै प्रश्नको जवाफ दिनेछ। हामीले किन गभर्नरलाई कारबाही गरेका हौं ।’

कर्जा बिस्तार हुँदा समेत राष्ट्र बैंकले कहाँ लगानी गरेको छ भनेर खोज्ने प्रयास नगरेको र आफूले धेरै पटक प्रश्न गर्दासमेत जवाफ पाउन नसकेको हो उनले बताए ।

‘शुरूदेखि नै विदेशी मुद्राको संचिती कसरी बढाउने भन्ने विषयमा कुरा गरेको थियो, त्यसमा पनि कुनै सहयोग भएन,’ उनले भने, ‘मैले समयमै ध्यानाकर्षण गराएको थिएँ । तर, राष्ट्र बैंकको नेतृत्वले सहयोग गरेन ।’

शर्माले सहुलियत पुर्णकर्जाको उपयोग कसरी भयो भनेर तथ्यांक समेत राष्ट्र बैंकले उपलब्ध नगराएको बताए ।


क्लिकमान्डु