६.७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ, फागुनमा ९१ अर्ब रेमिट्यान्स आयोः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति ६.७ महिनाको आयात धान्न पुग्ने रहेको बताएका छन् ।

सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले भने, ‘अहिले ११ खर्ब ७१ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति छ, यसले ६.७ महिनाको आयात धान्न पुग्छ ।’

उनका अनुसार गत असारको तुलनामा फागुनसम्मको तथ्यांकका आधारमा यो १७ प्रतिशतले कमी हो । उनले हाल आयात कम गर्नका लागि मन्त्रालयमा छलफल समेत भइरहेको बताए ।

मन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति सामान्य अवस्थामा रहेको भन्दै सबै परिसूचक सामान्य अवस्थामा रहेको बताए ।

‘अर्थतन्त्रमा कुनै संकट आएको छैन,’ उनले भने, ‘अर्थतन्त्र खराब छ भनेर व्यवसायी र जनतालाई भ्रम छर्ने काम भइरहेको छ ।’

उनले चालु आवको फागुन महिनासम्म गत आवको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशतले घटेको बताए । फागुन महिनामा मात्रै ९१ अर्ब रुपैयाँ रेमिट्यान्स आएको बताए ।


क्लिकमान्डु