बैंक म्यानेजरलाई सीइओको इमेलः गाडी सहित बिलासी वस्तुको ‘एलसीको फाइल स्टप’



काठमाडौं । नेपाल राष्ट्र बैंकले गाडी सहित बिलासी वस्तुको एलसी नखोल्न दिएको मौद्रिक निर्देशन वाणिज्य बैंकहरुले मंगलबारदेखि कार्यान्वयनमा ल्याएका छन् ।

मंगलबार बिहान २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले शाखा प्रवन्धक सहित उच्च अधिकारीलाई राष्ट्र बैंकले गाडी सहित बिलासी वस्तुको आयात रोक्न भनेको हुँदा यसको एलसीको फाइल रोक्न भनेका छन् ।

‘एलसी खोल्ने काम धेरैजसो बैंकमा हेडअफिसबाटै हुन्छ, बिलासी वस्तुको एलसीको फाइल अगाडि नबढाउनु भनेर इमेल पठाएको छु,’एक वाणिज्य बैंकका सीइओले भने ।

एक बैंकका शाखा प्रवन्धकले हेडअफिसबाट बिलासी वस्तुको आयातको एलसी रोक्ने काम भएको तथा त्यो आयात गर्ने फर्महरुलाई चाहिने थप ऋण समेत नदिन अनुरोध भएको इमले आएको जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका सीइओलाई बोलाएर गाडी सहित बिलासी वस्तुको आयात रोक्न त्यसको एलसी नखोल्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले लिखितमा नभएर मौखिक निर्देशन दिएर विदेशी सन्चिती जोगाउन खोजेको देखिएको छ ।

गाडी लगायत चकलेट तथा सुपारी,मरिच जस्ता उपभोग नगर्दा हुने वस्तुको एलसी खोल्न राष्ट्र बैंकले रोकेको हो । अर्थतन्त्रमा ठूलो समस्या आउन रोक्नको लागि गाडी सहित बिलासी वस्तुको आयात रोक्ने निर्णय गरेको हो ।


क्लिकमान्डु