वर्षाका कारण हुने क्षति न्यूनिकरणमा सहयोग गर्न उर्जामन्त्रीद्वारा नर्वेका राजदूतसमक्ष आग्रह



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेकी छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको सचिवालयले जनाएको छ ।

उक्त अवसरमा मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा पनि नर्वे सरकारको सकारात्मक सहयोग प्राप्त भएको स्मरण गरिन् ।

ऊर्जा विकास, सामाजिक विकास, शैक्षिक गुुणस्तर सुधार तथा जलवायु परिवर्तनका क्षेत्रमा नर्वेले गरेको सहयोगको सर्हाना गर्दै उनले आगामी दिनमा आपसी चासो र विकासका विषयमा सहकार्य गरेर अगाडि बढ्न नेपाल सरकार इच्छुक रहेको उल्लेख गरिन् ।

मन्त्री भुसालले आफूले मन्त्रालय सम्हालेपछि गुणस्तरीय ऊर्जा उपलब्ध गराउन निरन्तर लागि परेको तथा सबस्टेशन र प्रशारणलाइन निर्माणलाई विशेष जोड दिइएको बताइन् ।

जलवायु परिवर्तनका कारण नेपालले नयाँनयाँ चुनौती झेल्नुपरेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी वर्षा हुने र त्यसले जनधनको क्षति बढाउँदै लगेको छ, त्यस्ता जोखिम न्यूनीकरणका लागि नर्वे सरकारसँग मिलेर काम गर्न चाहन्छौँ ।’

मन्त्री भुसालले मनाङ्, इलाम, सिन्धुपाल्चोकलगायत क्षेत्रमा बेमौसमी वर्षाले नराम्रोसँग क्षति गरेको र ती स्थानमा नर्वेसँग सहकार्य गरेर जोखिम न्यूनीकरणका लागि केही गर्न सके नमूना काम हुने बताइन् ।

त्यस अवसरमा राजदूत ड्रम्डालले नेपालको ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको जनाउँदै नवीकरणीय ऊर्जा र जलविद्युत्को विकासमा सहकार्य गर्ने बताए ।

उनले जलविद्युत् क्षेत्रमा नेपालसँग लामो सहकार्य रहेको उल्लेख गर्दै ९ करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्रमा लगानी रहेको जानकारी गराएका थिए ।

राजदूत ड्रम्डालले प्रशारण लाइन निर्माणमा भएको ढिलाइबारे चासो व्यक्त गर्नुभएको थियो ।


क्लिकमान्डु