तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथन आयोजना हुँदै, कर्णालीमा पर्यटन प्रवर्द्धन गर्न अपेक्षा
काठमाडौं । कर्णालीमा तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथन आयोजना हुने भएको छ ।
२०७७ सालमा आयोजना हुनुपर्ने म्याराथन कोरोना महामारीले रोकिएको र अहिले कोरोना महामारीको असर कम हुँदै गएकाले कर्णाली स्पोटर्स क्लबले चैत २६ गते आयोजना हुने प्रतियोगिताका लागि रजिष्ट्रेसन खुल्ला गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आयोजकका अनुसार तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथुनमा व्यवसायीक खेलाडीका साथै पदयात्रा गर्न चाहने १६ वर्षभन्दामाथिका शारीरिकरुपमा सक्षम व्यक्ति सहभागी हुन सक्नेछन् ।
खेलका माध्यमबाट प्रदेशलाई चिनाउने उद्देश्यले जुम्ला रारा अल्ट्रा म्याराथन आयोजना गरिएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
सामान्य म्याराथन समथर भूभागमा आयोजना हुन्छ भने अल्ट्रा म्याराथन पहाडको उकालो ओरालो क्षेत्रमा आयोजना हुने गर्छ । अल्ट्रा म्याराथनका लागि पहाडका भएका पर्दमार्गहरु निकै उत्कृष्ट हुने गर्छन् ।
समुद्री सतहबाट २३०० मिटरको उचाइ रहेको जुम्मा सहरमुकामबाट शुरु हुने म्याराथन ३३०० मिटरको उचाइमा रहेको डाफेँ लेक हुँदै फेरि २५०० मिटर उचाइमा रहेको न्याउरीघाट क्षेत्र पुग्ने र त्यहाँबाट ४१०० मिटरमा रहेका चुच्चेमारा लेक भएर २९९० मिटर उचाइमा रहेको रारा ताल छेउमा समापन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
४९ किलोमिटर लामो यो रुटको जस्तो उचाइमा विविधता संसारका कुनै पनि रुटमा नभएको आयोजकको दाबी छ ।
जुम्लादेखि रारासम्म दुई दिनको पदयात्राको रुट भएपनि व्यवसायीक खेलाडीले ६ देखि ७ घण्टासम्ममा दौड पूरा गर्ने गर्छन् ।
२०७५ सालमा आयोजना भएको पहिलो संस्करणमा २९२ पुरुष र २४ महिला गरी ३२० जना सहभागी भएका थिए । त्यसमध्ये ७० जनाले दौड पूरा समेत गरेका थिए । पहिलो संस्करणमा पुरुषतर्फ दुर्गा बुढा विजयी हुँदा महिलातर्फ सुनमाया बुढा विजयी भएकी थिएन् ।
यस्तै २०७६ सालमा आयोजना भएको दोस्रो संस्करणमा ३०० पुरुष र ४७ महिला गरी ३४७ जना सहभागी भएका थिए । त्यसमध्ये ७२ जनाले दौड पूरा समेत गरेका थिए । दोस्रो संकरणमा पुरुषतर्फ धिरबहादुर बुढा विजयी भएका थिए भने महिलातर्फ राममाया बुढा विजयी भएकी थिइन् ।
पहिलो र दोस्रो संकरणमा विजयी खेलाडीलाई १ लाख नगद पुरस्कार सहित मेडल र टर्फी प्रदान गरिएको थियो । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि पुरुष र महिलातर्फ शीर्ष १० खेलाडीलाई समान रुपमा पुरस्कृत गर्ने क्लबको योजना छ ।
यो वर्ष प्रथम पुरस्कारको राशी विगत वर्षका तुलनामाबढी हुने भएपनि अझै यकिन नगरेको क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।