बीमामा सहभागिता बढ्दो, ७ महिनामा बीमाको पहुँच ८.२९%ले बढ्यो



काठमाडौं । पछिल्लो समय बीमामा सहभागिता बढ्दै गएको देखिन्छ । बीमा समितिको तथ्यांकअनुसार नेपालमा बीमा गर्नेको संख्या कुल जनसंख्याको ३५.१८ प्रतिशत पुगेको छ ।

बीमामा आएको जनसंख्या म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहितको जनसंख्या हो ।

म्यादी बीमा र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक भने बीमाको पहुँच १९.४४ प्रतिशत जनसंख्यामा पुगेको समितिको भनाइ छ ।

समितिले केन्द्रीय तथ्यांक विभागले गरेको नेपालको अनुमानित जनसंख्याका आधारमा बीमालेखलाई गणना गरी बीमा पहुँच गणना गरेको हो ।

जीवन बीमा कम्पनीहरुले जारी गरेको कुल बीमालेखको संख्यामा पाँच प्रतिशत घटाएर समितिले बीमामा पहुँचको मुल्याङ्कन गरेको हो ।

बीमालेख दोहोरिने सम्भावना भएकाले समितिले कुल जारी बीमालेखमा पाँच प्रतिशत बीमालेख घटाएर बीमामा आएको जनसंख्या गणना गर्दै आएको हो ।

चालु आवको माघ महिनासम्ममा नेपालको कुल जनसंख्या तीन करोड ५६ लाख ६३४ जना छ । जसमा एक करोड ५ लाख ७४ हजार ४३१ वटा बीमालेख बिक्री भएको समितिको तथ्यांक छ ।

कम्पनीहरुमा कुल एक करोड १० लाख ८६ हजार ६८९ बीमालेख जारी भएका छन् ।

चालु आवको सात महिनामा मात्रै बीमाको पहुँच ८.२९ प्रतिशतले बढेको छ  । यही तथ्यांकले पनि मुलुकमा बीमामा सहभागिता बढ्दै गएको प्रस्ट हुन्छ ।

बीमा समितिले बीमाको दायरालाई बढाउनका लागि भन्दै देशका स्थानीय तहमा गएर सचेतना कार्यक्रम गर्दै आएको छ । जनचेतनाको वृद्धिसँगै बीमा गराउनेको संख्यामा सहभागिता बढेको हो ।

सरकारले पनि चालु आर्थिक वर्षमा कुल जनसंख्याको एक तिहाई जनसंख्यामा बीमाको पहुँच पुर्याउने लक्ष्य लिएको थियो । सरकारले लिएको उक्त लक्ष्य हासिल गर्नका लागि बीमा समितिले स्थानीय निकायसँग समन्वयन गर्दै जनचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सोही कार्यक्रमको प्रभावले गर्दा पनि बीमाको दायरामा आएको जनसंख्या बढ्दै गएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

जनचेतनाको वृद्धि भएसँगै बीमाको दायरामा आएको जनसंख्याको ग्राफ उकालो लाग्दै गएको उनको भनाइ छ । जनचेतनाको वृद्धि र कम्पनीहरुको शाखा सञ्जाल बढ्दा बीमाको दायरा बढ्दै गएको उनले बताए ।

अझै दायरा बिस्तार गर्नका लागि स्थानीय सरकारलाई नै जोड दिने कार्यक्रम रहेको उनको भनाइ छ । स्थानीय सरकारलाई बीमा बुझाएर नै बीमाको दायरा बढ्न सक्ने समितिको भनाइ छ ।

चालु आर्थिक वर्षको साउनसम्ममा बैदेशिक रोगजार (म्यादी बीमा)सहित २६.८९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको थियो । म्यादी बीमा बाहेक २४.९९ प्रतिशतमा बीमाको पहुँच बिस्तार भएको थियो ।

म्यादी बीमा सहित भदौ महिनामा २७.५२ प्रतिशत, असोज महिनासम्ममा २८.१५ प्रतिशत पुगेको थियो ।

कात्तिक महिनामा आइपुग्दा सो संख्या २९.६८ प्रतिशत पुगेको समितिको तथ्यांक छ । मंसिर महिनामा ३० प्रतिशत जनसंख्यामा बीमा पहुँच पुगेको थियो ।

सो संख्या पुस महिनामा आइपुग्दा ३४.९९ प्रतिशतमा पुगेको तथ्यांक छ । समितिको पछिल्लो तथ्यांक अनुसार माघसम्ममा बीमाको दायरा सात महिनाको अवधिमा ८.२९ प्रतिशतले बढेर ३५.१८ प्रतिशतमा पुगेको हो ।

समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा बीमाको दायरामा आएको जनसंख्या १० प्रतिशत मात्रै थियो ।

आव २०७३/७४ मा आईपुग्दा बीमाको दायरमा आएको जनसंख्या ११ प्रतिशत थियो । २०७४./७५ मा बीमाको दायरामा आएको जनसंख्या बढेर १४ प्रतिशत थियो । आव २०७५/७६ मा आइपुग्दा बीमाको दायरामा आएको जनसंख्या १९ प्रतिशत थियो ।

बीमाको दायरमा आएको दायरा २०७६/७७ मा आइपुग्दा २२ प्रतिशत थियो । यस्तै, २०७७/७८ मा बीमाको पहुँच २४ प्रतिशत जनसख्यामा पुगेको समितिको तथ्यांक छ ।

जीवन बीमालेखको संख्या एक करोड नाघ्यो
चालु आर्थिक वर्षको साउन महिनामा कम्पनीहरुले ८१ लाख ८६ हजार ५६२ बीमालेख बिक्रि गरेका थिए । चालु आवको माघ महिनामा आइपुग्दा सो संख्या बढेर एक करोड ५ लाख ७४ हजार ४३१ पुगेको छ ।

चालु आवको भदौं महिनामा जीवन बीमा कम्पनीहरुले ८३ लाख ८५ हजार ६६२ वटा बीमालेख बिक्रि गरेका थिए ।

यस्तै, असोजमा आइपुग्दा सो संख्या ८५ लाख ८६ हजार १९३, कात्तिक महिनामा आइपुग्दा ९० लाख ६० हजार ९१६, मंसिर महिनामा आइपुग्दा ९१ लाख ६८ हजार ९८९, पुस महिनामा आइपुग्दा एक करोड ५ लाख ३१ हजार ५६८ पुगेको तथ्यांक छ ।

उल्लेखित बीमालेखको संख्या कम्पनीहरुमा जारी कुल बीमालेखमा पाँच प्रतिशत बीमालेख घटाएर निकालिएको तथ्यांक हो ।


क्लिकमान्डु