सहकारीको ब्याजदर चैतमा फेरि बढ्ने



काठमाडौं । सहकारी संस्थाहरुको सन्दर्भ ब्याजदर बढेलगत्तै फेरी ब्याजदर बढ्ने भएको छ ।

सहकारी पत्रकार समाजले आयोजना गरेको ‘एकीकृत निर्देशन’ विषयक छलफल कार्यक्रममा उप्रेतीले चैतमा सहकारी संस्थाहरुको ब्याजदर बढ्ने सम्भावना रहेको बताए ।

‘सहकारीको सन्दर्भ ब्याजदरसँग मेलखाने माघसम्मको तथ्याङक राष्ट्र बैंकमा फागुन २२ गते आउने रहेछ,’ अध्यक्ष उप्रेतीले भने, ‘फागुनमा आउने तथ्याङकमा बैंकको ब्याजदर पनि बढ्यो भने चैतमा सहकारी संस्थाहरुको पनि सन्दर्भ ब्याजदर बढ्ने छ ।’

उक्त रिपोर्र्ट आएपछि छलफल गर्ने र बैंकहरुको ब्याजदर बढेको पाइएमा सहकारीको पनि सन्दर्भ ब्याजदर बढाउने विषयमा सहकारी विभागका रजिष्ट्रारसँग सहमति भएको उनको भनाइ छ ।

यसअघिको छलफलमा राष्ट्र बैंकमा फागुनसम्मको ब्याजदरको तथ्याङक नआएको कारण माघको तथ्याङकलाई आधार मानेर अहिलेको सन्दर्भ ब्याजदर १६ प्रतिशत कायम गरेको राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत रहेका उप्रेतीको भनाइ छ ।

‘चैतको पहिलो साता हामी छलफल गर्छौ,’ उनले भने, ‘त्यो बेला बैंकको ब्याजदर बढ्यो भने हामीले पनि बढाउने विभागसँग सहमति गरेका छौं । त्यसपछि निरन्तर तीन–तीन महिनामा छलफल गर्नेछौं ।’

बैंकको ब्याजदर बढे सहकारीको सन्दर्भ ब्याजदर बढाउने भएपनि बैंकको ब्याजदर घटेको खण्डमा के गर्ने भन्ने विषयमा अहिले नै कुनै धारणा नभएको अध्यक्ष उप्रेतीको भनाइ छ ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी विभागले जारी गरेको ८८ बुँदे निर्देशन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग स्वीकृती नलिइ जारी गरेको भन्दै यो संशोधन गर्ने बताए । उनले यो निर्देशन अध्ययन गरेर करिब एकदेखि डेढ महिनाभित्रमा संशोधन गर्ने जानकारी गराए ।

तत्कालिन रजिष्टारले मन्त्रालयको स्वीकृती नै नलिइ निर्देशन जारी गरेको भन्दै अब मन्त्रालयबाट स्वीकृती लिने र संशोधनसहित जारी गर्ने बताए ।

त्यसको लागि आवश्यक सुझाव दिन समेत आग्रह गरे । आएको सुझावलाई समावेश गरेर संशोधन सहितको निर्देशन आउने पण्डितको भनाइ छ ।

कार्यक्रममा पण्डितले कर्जा सूचना केन्द्रको विषय सहकारी विभागमा कार्यविधि आएको, ऋण असुली न्यायाधिकरणको काम केही भएको भन्दै अब दुबै विषयलाई विभागले अध्ययन गरेर एकै पटक मन्त्रालयमा पठाउने जानकारी दिए ।


क्लिकमान्डु