६ लाख नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ६ लाख नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिएको छ ।

नागरिकको स्वास्थ्य बीमा सुनिश्चत गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने लक्ष्यका साथ सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा ५ लाख ९९ हजार ८२७ जना लाभान्वित भएका हुन् ।

सरकारले तोेकेको लक्षित समूहभित्र पर्ने विभिन्न समूहका सो संख्याका नागरिक स्वास्थ्य बीमा बोर्डमा आवद्ध भएका हुन् ।

स्वास्थ्य बीमा बोर्डको तथ्यांकअनुसार अति गरिबको परिचय प्राप्त नागरिक, जटिल खालका क्षयरोगी (एमडिआर टिबी), एचआईभी संक्रमित, कुष्ठरोग संक्रमित, अति अशक्त अपाङ्ग लगाएतका नागरिकले निःशुल्क बीमाको सेवा पाएका हुन् ।

बोर्डका अनुसार अति गरिबको परिचयपत्र प्राप्त गरेका ४ चार लाख ८३ हजार ८४४ जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् ।

दुई हजार २०७ जनाले जटिल खालका क्षयरोगी (एमडिआर टिबी) ले निशुल्क स्वास्थ्य बीमाको सुविधा पाएका छन् ।

सरकारले २३ हजार ६४९ एचआईभी संक्रमित, २ हजार ६९५ कृष्ठरोगी, ८७ हजार ४३२ अति अशक्त अपाङ्गता भएका नागरिकलाई निःशुल्क बीमा गराइदिएको छ ।

यस्तै, हालसम्ममा ६ लाख एक हजार ९१० जना जेष्ठ नागरिक र ८ हजार ३५१ जना महिला स्वास्थ्य स्वंसेविका पनि स्वास्थ्य बीमामा सहभागी भएका छन् ।

अति गरिब बीमित परिवार संख्या ८ लाख ३ हजार २२३, एचआइभी संक्रमित बीमित परिवारको संख्या १२ हजार ४, अति अशक्त अपाङ्ग बीमित परिवार सदस्य संख्या २ हजार ७३७, कुष्टरोग संक्रमित बीमित परिवार सदस्य संख्या २ हजार ६९५, एमडीआर तिबि संक्रमित बीमित परिवारको संख्या ८५६ जना सहभागी भएको बोर्डको तथ्यांक छ ।

माघ महिनामा मात्रै सरकारले तोकेको लक्षित समूहभित्र ५ हजार ९४६ जना नागरिक स्वास्थ्य बीमा बार्डमा आवद्ध भएका छन् ।
माघ महिनामा अति गरिब बीमितको संख्या एक हजार ३७६, एचआइभी संक्रमित बीमितको संख्या ६६८, अति अशक्त अपाङ्ग बीमितको संख्या तीन हजार ७७०, कुष्टरोग संक्रमित बीमितको संख्या ७२ र एमडीआर टिबि संक्रमित बीमितको संख्या २९ जना रहेको बोर्डको तथ्यांक छ ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनका लागि अति गरिबको परिचय पत्र प्राप्त, अति अशक्त अपाङ्गता, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोगी बिरामी भएका परिवारको योगदान रकममा शतप्रतिशत छुट दिने व्यवस्था तोकिदिएको छ ।

यस्तै, सरकारले ७० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई पनि योगदान रकममा छुट व्यवस्था गरेको छ । महिला स्वास्थ्य स्वयंमसेविका भएको परिवारको हकमा भने योगदान रकमको ५० प्रतिशत छुटको व्यवस्था गरिदिएको छ ।

स्वास्थ्य बीमा बोर्डको तथ्याङ्क अनुसार हालसम्म स्वास्थ्य बीमामा ५१ लाख २८ हजार ५३४ जनाले बीमा गराएका छन् ।
बोर्डका अनुसार कुल बीमित परिवारको संख्या १५ लख ७० हजार ८६२ छ ।

स्वास्थ्य बीमा बोर्डले पाँच सदस्यीय परिवारलाई एक युनिट मानेको छ । त्यो परिवारबाट बोर्डले वार्षिक ३ हजार ५ सय रुपैयाँ शुल्क लिन्छ । त्यो वापत उक्त परिवारलाई बोर्डले वार्षिक १ लाख रुपैयाँ सेवा उपलब्ध गराउँछ ।

७ जनाभन्दा बढी सदस्य परिवार रहेको हकमा भने बोर्डले सो परिवारले अतिरिक्त रुपमा प्रतिपरिवार ७ सय रुपैयाँ तिर्दा सो परिवारले अतिरिक्त एक लाखभन्दा बाहेक २० हजार रुपैयाँ बराबरको सुविधा पाउँछन् ।


क्लिकमान्डु