राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र बोर्ड सदस्यले कति पाउँछन् तलब ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर, डुपुटी गभर्नर तथा बोर्ड सदस्यका लागि आर्थिक वर्ष २०७७/७८ मा पौने २ करोड रुपैयाँ खर्चिएको छ ।

राष्ट्र बैंकका अनुसार गत आवमा ९ जनाले १ करोड ७५ लाख ६५ हजार ८१६ रुपैयाँ तलब, बैठक भत्ता तथा अन्य सेवा सुविधावापत प्राप्त गरेका छन् ।

वाणिज्य बैंकका सीइओहरुले डेढ करोड रुपैयाँदेखि साढे ३ करोड रुपैयाँ तलब तथा भत्ता वापत बुझ्दा सबै बैंक तथा वित्तीय संस्था नियमन गर्ने केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर तथा बोर्ड सदस्य गरी ९ जनाले एक वर्षमा लिएको रकम भने आफैमा निकै कम हो ।

प्राप्त तथ्यांक अनुसार यो गत वर्ष गभर्नर, २ वर्तमान तथा २ पूर्वडेपुटी गभर्नरका साथै अन्य ४ जना बोर्ड सदस्यले लिएको रकम हो ।

जसअनुसार गत वर्ष गभर्नर महाप्रसाद अधिकारीले कुल तलब भत्तावापत ३२ लाख ६२ हजार रुपैयाँ बुझेका छन् । गत आवमा गभर्नर अधिकारीभन्दा बढी तलब तथा भत्ता वापतको रकम बुझ्नेमा डुपेटी गभर्नरहरु छन् ।

डेपुटी गभर्नर डा. निलम ढुंगाना (तिम्सिना)ले तलब भत्ता गरी ३६ लाख ५८ हजार ७२४ रुपैयाँ र अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले कुल ३४ लाख ७९ हजार ८४१ रुपैयाँ बुझेका छन् ।

त्यसैगरी पूर्वडेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटीले १८ लाख २६ हजार ६०४ रुपैयाँ र शिवराज श्रेष्ठले १८ लाख २१ हजार ६०४ रुपैयाँ बुझेका छन् ।

यता अर्थसचिवका रुपमा बोर्ड सदस्य रहेका शिशिर कुमार ढुंगानाले बोर्ड बैठकको भत्ता तथा अन्य सुविधा गरी ५ लाख ८ हजार रुपैयाँ बुझेका छन् ।

त्यसैगरी बोर्ड सदस्यका रुपमा डा. श्रीराम पौड्यालले १० लाख १७ हजार ८८० रुपैयाँ, रामजी रेग्मीले १० लाख २ हजार ८८० रुपैयाँ र सीए डा. सुबोधकुमार कर्णले ९ लाख ८७ हजार ८८० रुपैयाँ तलब तथा भत्ता वापत रकम बुझेका छन् ।


क्लिकमान्डु