नेप्सेलाई २५% आइपीओ निष्काशन गरेर तत्काल रणनीतिक साझेदार भित्र्याउन सुझाव



काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको सरकारी स्वामित्व घटाउँदै विदेशी रणनीतिक साझेदार भित्र्याउन र सर्वसाधारणलाई सेयर निष्काशन गर्न सरोकारवाला निकायले सुझाव दिएका छन् ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण कार्कीले उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श र मर्चेन्ट बैंकर्ससँगको छलफलमा सरोकारवाला निकायले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा नेप्सेको हाल रहेको पुँजीमा थप पुँजी थपेर रणनीतिक साझेदार थप्ने, नेप्से र सिडिएससीको सर्वसाधारणलाई २५ प्रतिशत सेयर निष्काशन गर्ने र सरकारको स्वामित्व घटाउँदैै जाने विषयमा छलफल भएको हो ।

कार्यक्रममा नेप्सेका कामु प्रबन्धक निरन्जन फुँयालले दक्षिण एसियाका विभिन्न स्टकहरुले रणनीतिक साझेदारी भित्र्याएको भन्दै नेपालमा पनि आवश्यक रहेको बताए । नेपालले पनि अब नेप्से र सिडिएससीमा रणनीतिक साझेदार भित्र्याउन आवश्यक रहेको धारणा राखे । नेपालले एक दशक भन्दा लामो समयदेखि नेप्सेमा रणनीतिक साझेदारी भित्र्याउने विषय चर्चामा आएको तर कार्यान्वयन नभएको भन्दै अब कार्यान्वयनमा लैजानु पर्ने फुँयालको भनाइ छ ।

छलफलमा सहभागी अन्य निकायका अधिकारीहरुले पनि नेप्सेमा सँधै सरकारी निकायको बढी स्वामित्व हुन नहुने धारणा राखेका थिए । बढी सरकारी स्वामित्वहुँदा लगानीकर्ताको हित अनुसार समयमा नै काम गर्न नसकेको, ढिला सुस्ती भएको भन्दै आइपीओ निष्काशन गरेर रणनीतिक साझेदारीमा जान सुझाव दिएका छन् । सानो बजारमा अर्को स्टक ल्याउनु भन्दा नेप्सेमा नै रणनीतिक साझेदार तत्काल ल्याएर यसैलाई थप विस्वसनिय र बलियो बनाउँदै जानुपर्ने सुझाव सरोकारवाला निकायको रहेको छ ।

हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चयकोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत र अन्यको ०.६० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सरकारको स्वामित्वमा सेयर रहेसम्म नेप्सेले प्रभावकारी रुपमा काम गर्न नसक्ने भन्दै नीति क्षेत्रलाई नयाँ स्टकको लाइसेन्स दिने विषयमा चर्चा सुरु भएको छ । त्यही बेलामा नै नेप्सेका सीइओ कार्कीले नीजि क्षेत्रलाई बोलाएर यो विषयमा सुझाव लिएका छन् । अहिले सरकारले नै नेप्सेमा रणनीतिक साझेदार भित्र्याउनु भन्दा पनि नयाँ स्टकको लाइसे्रन्स दिन चलखेल गरेको चर्चा सुरु भएको छ ।


क्लिकमान्डु