
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) ले इतिहासकै सबैभन्दा ठूलो धक्का व्यहोरेको छ ।
चुनावी मैदानमा उत्रिएका एमालेका ११ जना पदाधिकारीमध्ये १० जनाले पराजय भोग्नुपरेको छ । भोजपुरमा एमाले सचिव शेरधन राई आइतबार बिहान साढे ९ बजेसम्मको मतगणनामा करिब १४ सयमतले पछाडि छन् । उनले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई पछ्याइरहेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित लगभग सबै शीर्ष नेताहरू पराजित हुँदा एमालेको संसदीय उपस्थिति निकै कमजोर हुने देखिएको छ ।
बालेन्द्र शाहसँग केपी ओलीको लज्जास्पद हार
झापा निर्वाचन क्षेत्र नं. ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग ठूलो मतान्तरले पराजित भए । शाहले ६८ हजार ३ सय ४८ मत प्राप्त गर्दा ओलीले जम्मा १८ हजार ७ सय ३४ मत मात्र पाए । ओली ४९ हजार ६ सय १४ को फराकिलो मतान्तरले पराजित भएका हुन् । यसअघि २०७९ को निर्वाचनमा ओलीले सोही क्षेत्रबाट भारी मतले जितेका थिए ।
सबैतिर पराजयको लहर
एमालेका तीनै जना उपाध्यक्ष, महासचिव र तीन सचिवले हार व्यहोरेका छन् ।
उपाध्यक्षहरू: रूपन्देही-२ मा विष्णु पौडेल रास्वपाका सुलभ खरेलसँग पराजित भए । लमजुङमा पृथ्वी सुब्बा गुरुङ रास्वपाकै धर्मराज केसीसँग र गुल्मी-२ मा गोकर्ण विष्ट रास्वपाका गोविन्द पन्थीसँग पराजित भए ।
महासचिव: दाङ-२ मा महासचिव शंकर पोखरेल रास्वपाका विपिनकुमार आचार्यसँग २८ हजार २ सय ७२ मतान्तरले पराजित भए ।
सचिवहरू: प्रदीप ज्ञवाली गुल्मी-१ मा रास्वपाका सागर ढकालसँग पराजित भए । त्यस्तै, भानुभक्त ढकाल, राजन भट्टराई र महेश बस्नेतले पनि आफ्नो सिट सुरक्षित गर्न सकेनन् ।
पूर्ववरिष्ठ उपाध्यक्ष: ईश्वर पोखरेल काठमाडौं-५ मा तेस्रो स्थानमा खुम्चिए, जहाँ रास्वपाका सस्मित पोखरेल विजयी भए ।
२०४८ सालपछिको चुनावी इतिहासमा एमालेका लागि यो सबैभन्दा कमजोर नतिजा हो । २०७४ मा प्रत्यक्षतर्फ ८० सिट जितेर पहिलो दल बनेको एमाले यसपटक प्रत्यक्षतर्फ धेरै पछाडि परेको छ ।
अहिलेसम्म नेकपा एमालेले ७ स्थानमा जित हात पारेको छ ।
१. मोहम्मद इस्तियाक राई – बाँके क्षेत्र नं. २ (२४,६२८ मत)
२. सुहाङ नेम्वाङ – इलाम क्षेत्र नं. २ (२२,४२६ मत)
३. गणेश सिंह ठगुन्ना – दार्चुला क्षेत्र नं. १ (१८,८९१ मत)
४. ऐनबहादुर महर – बझाङ क्षेत्र नं. १ (१८,५४३ मत)
५. राजेन्द्रकुमार राई – धनकुटा क्षेत्र नं. १ (१८,१३२ मत)
६. क्षितिज थेवे – ताप्लेजुङ क्षेत्र नं. १ (१३,१६२ मत)
७. लक्ष्मीप्रसाद पोखरेल – दैलेख क्षेत्र नं. २ (१३,८८९ मत)








प्रतिक्रिया