टेलिकमको सेयर मूल्य अहिलेसम्मकै उच्च, ठूला लगानीकर्ताले गरे ‘कर्नरिङ’



काठमाडौं । विगत एक महिनायता नेपाल दूरसञ्चार कम्पनी(टेलिकम)को सेयर मूल्य प्रतिकित्ता २६६ रुपैयाँले बढेको छ ।

माघ ९ गते प्रतिकित्ता १५३१ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य मंगलबारसम्म आइपुग्दा प्रतिकित्ता २६६ रुपैयाँले बढेर १७७९ रुपैयाँ पुगेको छ । एक महिनामा कम्पनीमा लगानी गर्ने लगानीकर्ताले प्रतिकित्ता २६६ रुपैयाँ आम्दानी गरेका छन् ।

पछिल्लो समयमा कम्पनीले बोनस सेयर दिन्छ भन्ने हल्ला फैलाएर पनि कम्पनीको सेयर मूल्य बनाउने भन्दै केही लगानीकर्ताले यसको मूल्य कर्नरिङ गरेर बढाएका छन् । नेप्सेमा सूचिकृत ठूला कम्पनीमा टेलिकमले गतवर्षको नाफाबाट लाभांश घोषणा अहिलेसम्म गरेको छैन ।

‘नेपाल टेलिकमले अहिलेसम्म बोनस सेयर दिएको छैन र दिने सम्भावना पनि ज्यादै न्यून छ । केही व्यक्तिले बोनस सेयर दिन्छ भन्ने हैला फैलाएर सेयर मूल्य बनाउने काम भएको छ’ टेलिकम निकट स्रोतले भने ‘टेलिकमलाई बोनस सेयर जारी गर्न सरकारले नै दिँदैन । सरकारले कर उठाउने राम्रो ठाँउमध्ये टेलिकम पनि हो । बोनस जारी गर्दा सरकारलाई फाइदा हुँदैन ।’

सरकारले पुस मसान्तमा टेलिकमबाट ३ अर्ब रुपैयाँ अग्रिम लाभांश लिएको स्रोतको दाबी छ ।

कम्पनीले बोनस सेयर दिने भनेर केही ठूला लगानीकर्ताले हल्ला चलाएका छन् । जसको असर अन्य लगानीकर्तामा पनि देखिएको छ । ‘फलानोका आफ्न्तले टन्नै सेयर उठाएका छन् रे, त्यो कम्पनी उठाउने हो भने मूल्य निकै बढ्ला जस्तो छ’ स्रोतले भन्यो ‘यसैगरी सेयर किन्ने धेरै छन् सबैलाई कम्पनीले बोनस दिन्छ भन्ने अपेक्षा छ, त्यो अपेक्षा पुरा हुने सम्भावना निकै न्यून छ ।’

कम्पनीले बोनस नदिने भएपनि नगद लाभांश दिने क्षमता भने राम्रो रहेको छ । केही लगानीकर्ताले अघिल्लो वर्षपनि टेलिकमले बोनस सेयर दिने भनेर हल्ला चलाएर मूल्य बढाएका थिए । तर, टेलिकमले बोनस सेयर भने दिएन । क्लिकमाण्डूलाई प्राप्त जानकारी अनुसार यो पटकपनि अवस्था अघिल्लो वर्षको भन्दा फरक छैन ।

कम्पनीले यसअघि दिएको लाभांश हेर्ने हो भने पनि आव २०७०/७१ मा ४७ प्रतिशत, आव २०७१/७२ मा ५० प्रतिशत, २०७२/७३ मा ५१ प्रतिशत, आव २०७३/७४ मा ५५ प्रतिशत, २०७४/७५ मा ५५ प्रतिशत, २०७५/७६ मा ४५ प्रतिशत र आव २०७६/७७ मा ४० प्रतिशत नगद लाभाशं दिएको थियो ।

‘बैंक र बीमाजस्तो पुँजी बढाउनुपर्ने बाध्यता नेपाल टेलिकमलाई छैन, खर्चको लागि स्रोतको दवावमा रहेको सरकारले बोनस सेयर दिने सम्भावना न्यून छ,’टेलिकम स्रोतले भन्यो ।

कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको बजारपुँजिकरण २ खर्ब ६६ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा सरकारको ९२ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी सेयर सर्वसाधारणको रहेको छ ।


क्लिकमान्डु