११ फाइनान्सको लाभांश: ९ कम्पनीको बढ्यो, मञ्जुश्रीको सबैभन्दा धेरै



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएका ११ फाइनान्सले लगानीकर्तालाई प्रतिफल दिएका छन् ।

नेप्सेमा सूचीकृत १५ वटा फाइनान्स कम्पनीमध्ये हालसम्म ११ वटाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

जसमा लाभांश दिने कम्पनीमा आइसीएफसी फाइनान्स, गुडविल फाइनान्स, पोखरा फाइनान्स, श्री इन्भेष्टमेण्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी फाइनान्स, मल्टी पर्पज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मञ्ज श्री फाइनान्स र रिलायन्स फाइनान्स छन् ।

गत वर्षको तुलनामा ११ मध्ये ९ कम्पनीको लाभांश दर बढेको छ ।

लाभांश घोषणा गरेकामध्ये आइसीएफसी र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको गत वर्षको तुलनामा लाभांश दर घटेको हो ।

अघिल्लो आवबाट सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गरेको आइसीएफसी फाइनान्सले गत आवको मुनाफाबाट १४ प्रतिशत मात्र लाभांश घोषणा गरेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने भएको हो ।

गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताका लाािग ११.४ प्रतिशत लाभांश वितरण गरेकोमा गत आवमा १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सबैभन्दा धेरै मञ्जुश्री र थोरै प्रोग्रेसिभको
आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्तालाई धेरै प्रतिफल दिने कम्पनीमा मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा छ ।

गत आवको मुनाफाबाट कम्पनीले लगानीकर्ताका लागि ४६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । अघिल्लो आवको मुनाफाबाट कम्पनीले गत वर्ष १८ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद गरी कुल २३.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यसैगरी आर्थिक वर्षमा लगानीकर्तालाई सबैभन्दा थोरै प्रतिफल प्रोग्रेसिभ फाइनान्सले दिएको छ । कम्पनीले गत आवको मुनाफाबाट लगानीकर्ताका लागि ६ प्रतिशत बोनस सेयर ०.३१ प्रतिशत गरी कुल ६.३ प्रतिशत मात्र लाभांश घोषणा गरेको छ ।

रिलायन्स फाइनान्सले १५.७९ प्रतिशत लाभांश दिएको छ । यस्तै, गुडविल फाइनान्सले ९.१ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

गत आवको मुनाफाबाट सेन्ट्रल फाइनान्स र श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सले समान ११ प्रतिशत बोनस घोषणा गरेका छन् ।

मल्टिपर्पस फाइनान्सले गत आवको मुनाफाबाट लगानीकर्ताका लागि १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कुल १३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षमा पोखरा फाइनान्सका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाएका छन् ।

लाभांश घोषणा गरेका ११ कम्पनीमध्ये आइसीएफसी फाइनान्स, गुडविल फाइनान्स, पोखरा फाइनान्स, श्री इन्भेष्टमेण्ट, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी, मल्टीपर्पस, र मञ्जु श्री फाइनान्सले साधारण सभा सम्पन्न गरिसकेका छन् ।

साथै, प्रोग्रेसिभ फाइनान्सले कम्पनीले साधारण सभाको मिति तय गरेको छैन । नेप्सेमा सूचीकृत नेपाल फाइनान्स, वेस्ट फाइनान्स, समृद्धि फाइनान्स र गोर्खाज फाइनान्सले गत आवको मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छैनन् ।

नोपल फाइनान्सले लगानीकर्ताका लागि २०६७/६८ देखि लाभांश घोषणा गरेको छैन । यस्तै, बेस्ट फाइनान्स र गोखार्ज फाइनान्सले पनि आर्थिक वर्ष २०६७/६८ देखि लाभांश घोषणा गरेका छैनन् । साथै, समृद्धि फाइनान्सले २०६८/६९ मा लगानीकर्ताका लागि १० प्रतिशत लाभांश घोषणा गरेको थियो ।


क्लिकमान्डु