७ महिनामा करीब साढे ११ खर्बको आयात, ८८ प्रतिशतले बढ्यो निर्यात



काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले करिब साढे ११ खर्बको वस्तु आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँको वस्तु आयात भएको देखाउँदछ ।

गत वर्ष सोही अवधिमा नेपालले ८ खर्ब ३ अर्ब ६४ करो ३१ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष सोही अवधिमा ४२.७८ प्रतिशतले बढी आयात भएको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

चालु आवको शुरुवाती देखिनै उच्च आयात तथा निर्यात हुँदै आएको छ । त्यस्तै, ७ महिनाको अवधिमा नेपालबाट १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गर्न सफल भएको छ । जुन गत वर्षको तुलनामा ८८.३० प्रतिशतले बढी निर्यात भएको छ । गत वर्ष सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड ७० लाखको मात्रै वस्तु निर्यात भएको थियो ।

नेपालले ७ महिनाको अवधिमा १२ खर्ब ७९ अर्ब१२ करोड ४ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्ष नेपालले ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । गत वर्षभन्दा यो वर्ष नेपालले ४६.४३ अर्बले बढी वैदेशिक व्यापार गरेको छ ।

त्यसैगरी, विभागको तथ्याङकअनुसार ७ महिनाको अवधिमा नेपालले १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ व्यापाघाटा व्यहोरेको छ । गत वर्ष सोही अवधिमा नेपालले ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । यो वर्ष नेपालले ३८.४५ प्रतिशतले् बढी वैदेशिक व्यापारघाटा व्यहोरेको तथ्याङ्कले उल्लेख गर्दछ ।

नेपालले उक्त आयातित वस्तुबा २ खर्ब ९३ अर्ब ६८ करोड ११ लाख रुपैयाँ बढी भन्सार महशुल संकलन गरेको छ ।


क्लिकमान्डु