एनआइसी एशिया र प्रभुको एग्रेसनमा ब्रेक, सनराइज र चार्टर्ड आक्रामक



काठमाडौं । गत आर्थिक वर्ष व्यवसाय विस्तारमा आक्रामक एनआइसी एशिया र प्रभु बैंक यो वर्ष भने निकै सुस्त देखिएका छन् । प्राथमिक पुँजीकोष अनुपात (टायर १) टाइट भएपछि एनआइसी एशिया र प्रभुको एग्रेसनमा ब्रेक लागेको हो ।

आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा एनआइसी एशियाले ६६ अर्ब ४६ करोड निक्षेप संकलन गरेको थियो । ०७७ असार मसान्तमा २ खर्ब १० अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेको एनआइसी एशियाले ३१.५२ प्रतिशतले वृद्धि गरी ०७७ पुस मसान्तमा २ खर्ब ७७ अर्ब ३० करोड रुपैयाँ पुर्याएको थियो । गत आर्थिक वर्षमा बैंकले ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन एक वर्षमा एउटै बैंकले संकलन गरेको सबैभन्दा धेरै निक्षेप हो ।

सो अवधिमा बैंकले कर्जा प्रवाहसमेत ३४.१५ प्रतिशतले वृद्धि गरेको थियो । बैंकले गत असार मसान्तमा १ खर्ब ७३ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा आइपुग्दा ३४.१५ प्रतिशत अर्थात् ५९ अर्ब ३४ करोड रुपैयाँ थप कर्जा बढाएर २ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ पुर्याएको थियो ।

तर, यो वर्ष भने बैंकको व्यवसायको वृद्धि निकै सुस्त छ । गत वर्षको ६ महिनामा साढे ३१ प्रतिशतले निक्षेप बढाएको एनआइसी एशियाले यो वर्षको ६ महिनामा जम्मा २.८३ प्रतिशतले मात्रै निक्षेप बढाएको छ । ०७८ साउन १ गतेदेखि पुस मसान्तसम्ममा बैंकले जम्मा ८ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । ०७८ पुस मसान्तमा बैंकको कुल निक्षेप २ खर्ब ९४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, यो वर्षको ६ महिनामा एनआईसी एशियाले ९ अर्ब ३९ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको छ । जुन ३.५७ प्रतिशतको वृद्धि हो । ०७७ पुसको तुलनामा ०७८ पुसमा भने कर्जा ४० अर्ब १४ करोडले बढाएको छ । जुन १७.२७ प्रतिशतको वृद्धि हो । चालु आर्थिक वर्षको असोज मसान्तको भन्दा पुस मसान्तमा बैंकले १.४४ प्रतिशत अर्थात् ३ अर्ब ९१ करोड रुपैयाँले कर्जा घटेको छ । ०७८ पुस मसान्तसम्ममा बैंकले २ खर्ब ७२ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

गत वर्ष व्यवसाय विस्तारमा अर्को आक्रामक बैंक हो प्रभु । प्रभुले ०७७ असार मसान्तको तुलनामा ०७७ पुस मसान्तमा २४.६९ प्रतिशत अर्थात् ३३ अर्ब ७१ करोड रुपैयाँले निक्षेप बढाएर १ खर्ब ७० अर्ब २३ करोड रुपैयाँ पुर्याएको थियो ।

तर, चालु आर्थिक वर्षको ६ महिनामा प्रभु बैंकको निक्षेप ०.७५ प्रतिशत अर्थात् १ अर्ब २३ करोड रुपैयाँले घटेर ०७८ पुस मसान्तमा १ खर्ब ६३ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ ।

त्यस्तै, ०७७ असार मसान्तको तुलनामा कर्जा २५.४९ प्रतिशत अर्थात् २६ अर्ब २८ करोड रुपैयाँले बढाएर १ खर्ब २९ अर्ब ३८ करोड रुपैयाँ पुर्याएको थियो ।

तर, चालु आर्थिक वर्षको ६ महिनामा कर्जा जम्मा ५.०७ प्रतिशत अर्थात् ७ अर्ब २३ करोड रुपैयाँले बढाएर ०७८ पुस मसान्तमा कुल र्जा १ खर्ब ४९ अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ ।

गत वर्ष आक्रामक रहेका एनआइसी एशिया र प्रभु यो पटक सुस्त हुनुको मुख्य कारण हो प्राथमिक पुँजीकोष अनुपात कम हुनु । राष्ट्र बैंकले तोकेकोभन्दा कम प्राथमिक पुँजी पुगेपछि एनआइसी एशियाको लाभांश बाँड्न रोक लगाइसकेको छ । प्रभुको भने यस्तो अनुपात राष्ट्र बैंकको तोकेको न्यूनतम् सीमा नजिक छ । प्रभुजस्तै अन्य ४र५ वटा बैंकको पुँजीकोष अनुपात टाइट छ, जसकारण बैंकले यो आर्थिक वर्ष अत्यन्तै सुस्त गतिमा व्यवसाय विस्तार गरेका छ ।

तर, पुँजीकोष अनुपात र सीडी रेसियो केही खुकुलो भएका बैंकहरुले भने यो आर्थिक वर्षमा उल्लेख्य मात्रामा व्यवसाय विस्तार गरेका छ । यो वर्षको ६ महिनामा निक्षेप संकलन घटेपनि कर्जा विस्तारमा सबैभन्दा बढी आक्रामक स्ट्याण्र्ड चार्टर्ड देखिएको छ । बैंकले यो ६ महिनामा प्रतिशत सबैभन्दा बढी २२.२१ प्रतिशत अर्थात् १५ अर्ब ८७ करोड रुपैयाँले कर्जा विस्तार गरेको छ । यो अवधिमा चार्टर्डको निक्षेप भने १.४६ प्रतिशत अर्थात् १ अर्क २७ करोड रुपैयाँले घटेको छ ।

चालु आर्थिक वर्षमा निक्षेप संकलन र कर्जा प्रवाह दुबैमा सनराइज बैंक निकै आक्रामक देखिएको छ । यो ६ महिनाको अवधिमा बैंकले २१.४३ प्रतिशत अर्थात् २२ अर्ब ८ करोड रुपैयाँले निक्षेप बढाएर ०७८ पुस मसान्तमा कुल निक्षेप १ खर्ब २९ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको छ । ०७७ पुसको तुलनामा ०७८ पुसमा बैंकले ४० प्रतिशतले अर्थात् ३६ अर्ब ८३ करोड रुपैयाँले निक्षेप बढाएको छ ।

त्यस्तै, कर्जातर्फ पनि सनराइज बैंकले यो वर्षको ६ महिनामा २१.६० प्रतिशत अर्थात् २२ अर्ब १२ करोडले बढाएर कुल कर्जा १ खर्ब २४ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको छ । ०७७ पुसको तुलनामा ०७८ पुसमा बैंकले ४० प्रतिशत अर्थात् ३५ अर्ब ५३ कारोड रुपैयाँले कर्जा बढाएको छ ।

यो ६ महिनामा यी ७ बैंकले धेरै कर्जा बढाए

स्ट्याण्डर्ड चार्टर्ड र सनराइजपछि चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल, हिमालयन, लक्ष्मी, एनसीसी, सानिमा, एनएमबि र एभरेष्ट बैंकले धेरै कर्जा बढाएका छन् ।

नेपाल बैंकले २०.४२ अर्थात् २८ अर्ब ८१ करोड ६७ लाख रुपैयाँले बढाएर ०७८ पुस मसान्तमा कुल कर्जा १ खर्ब ६९ अर्ब ९१ करोड रुपैयाँ पुर्याएको छ ।

त्यस्तै, हिमालयन बैंकले २० प्रतिशत अर्थात् २६ अर्ब ४० करोड रुपैयाँले बढाएर कुल कर्जा १ खर्ब ५८ अर्ब ४९ करोड रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी, एनसीसी बैंकले १९.६८ प्रतिशत अर्थात् १९ अर्ब ३३ करोड ७८ लाख रुपैयाँले बढाएर कुल कर्जा १ खर्ब १७ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ ।

त्यस्तै, लक्ष्मी बैंकले १९.३८ प्रतिशत अर्थात् २१ अर्ब १८ करोड रुपैयाँले बढाएर कुल कर्जा १ खर्ब ३० अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी, माछापुच्छ्रे बैंकले १५.१२ प्रतिशत अर्थात् १७ अर्ब ७३ करोड रुपैयाँले बढाएर कुल कर्जा १ खर्ब ३५ अर्ब रुपैयाँ पुर्याएको छ ।

त्यस्तै, सानिमा बैंकले १४.९१ प्रतिशत अर्थात् १८ अर्ब ३५ करोड रुपैयाँले बढाएर कुल कर्जा १ खर्ब ४१ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी, एभरेष्ट बैंकले १३.०८ प्रतिशत अर्थात् १७ अर्ब ६८ करोडले बढाएर कुल कर्जा १ खर्ब ५२ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ ।

निक्षेप बढाउन सनराइज, हिमालयन र लक्ष्मी बैंक आक्रामक

कर्जा विस्तारमा आक्रामक रहेको सनराइज बैंक निक्षेप बढाउनमा पनि उस्तै आक्रामक देखिएको छ । सनराइजले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २१.४३ अर्थात् २२ अर्ब ८० करोड रुपैयाँले निक्षेप बढाएर कुल निक्षेप १ खर्ब २९ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ ।

त्यस्तै, हिमालयन बैंकले १७.३७ अर्थात् २४ अर्ब ४९ करोडले बढाएर कुल निक्षेप १ खर्ब ६५ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी, लक्ष्मी बैंकले १४.१५ प्रतिशत अर्थात् १६ अर्ब २१ करोडले बढाएर कुल निक्षेप १ खर्ब ३० अर्ब ८१ करोड रुपैयाँ पुर्याएको छ ।

कुन बैंकको के छ अवस्था ? हेर्नुहोस् तथ्यांकमा

निक्षेपतर्फ
कर्जातर्फ


क्लिकमान्डु