आजदेखि आइपीओ निष्कासन गरेको राष्ट्र उत्थान लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आज (बुधबार) देखि आइपीओ निष्काशन गरेको छ । कम्पनीको आइपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनी २०७५ असोज १४ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर २०७५ फागुन ८ गतेबाट सञ्चालनमा आएको हो । हाल कम्पनीले ३६ वटा जिल्लामा ८८ वटा शाखा कार्यालयमार्फत् सेवा दिरहेको छ ।

यसै आर्थिक वर्षमा कम्तीमा पनि थप ६ वटा शाखा विस्तार गरी व २०८०/८१ सम्ममा १११ शाखा संख्या पुर्याउने लक्ष्य लिएको छ । सेवाग्राहीको संख्यामा क्रमशः वृद्घि गर्दै आव २०८०/८१ सम्ममा करिब १ लाख पुर्याउने लक्ष्य लिएको छ ।

वित्तीय संस्थाले आव २०७८/७९ को अन्तसम्ममा निक्षेप संकलन ९१ करोड रुपैयाँ, ४ अर्ब ४२ करोड रुपैयाँ र खुद नाफा ८ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । साथै, आव २०८०/८१ सम्ममा निक्षेप संकलन १ अर्ब २९ करोड रुपैयाँ, कर्जा प्रवाह ९ अर्ब ९२ करोड रुपैयाँ र खुद नाफा २७ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।

वित्तीय संस्थाले आव २०७८/७९ को अन्त्यसम्ममा संस्थाको नेट वर्थ ४५ करोड ३७ लाख रुपैयाँ पुर्याइ आव २०८०/८१ सम्ममा ९१ करोड ३३ लाख पुर्याउने लक्ष्य लिएको छ । वित्तीय संस्थाले आव २०७८/७९ को अन्त्यसम्ममा संस्थाको प्रतिसेयर आम्दानी ३२.६७ पुर्याई आव २०८०/८१ सम्ममा १०५.४४ पुर्याउने लक्ष्य लिएको छ ।

भविष्यमा समेत ग्राहकहरुबाट माग भए बमोजिम र निजहरुको आवश्यकता बमोजिमका कर्जा र बचतका सेवा सुविधाहरु उपलब्ध गराउंदै जाने नीति रहेको छ ।

प्रबन्धपत्रको दफा ४ मा उल्लेख भए बमोजिमका उद्देश्यहरु हासिल गर्नका लागि लघुवित्त कारोबार विस्तार गर्दै लैलाने नीति रहेको छ ।

आन्तरिक नियन्त्रण र अनुपालना प्रणाली सुदृढिकरणमा विशेष जोड दिने नीति रहेको छ । संस्थाको दिगो विकासको लागि भविष्यमा असर पर्न सक्ने नकारात्मक घटना वा अवस्था आउन नदिन आवश्यक थप नीति, नियम, कार्यविधिहरुको तर्जुमा गरी अघि बढ्ने रणनीति यस वित्तीय संस्थाले लक्ष्य लिएको छ ।

वित्तीय अवस्था
आव २०७७/७८मा कम्पनीको चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा ११ करोड ८० लाख रुपैयाँ रहेको छ । आव २०७७/७८ मा कम्पनीको नाफा ४ करोड ७१ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै आव २०७८/७९ को दोस्रो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड ३८ लाख ९३ हजार रुपैयाँ रहेको छ । चालु आवको दोस्रो त्रैमासमा आइपुग्दा कम्पनीले ३ करोड २६ लाख ३७ हजार रुपैयाँ रहेको छ ।कम्पनीको आगामी योजना

कम्पनीले आगामी तीन आर्थिक वर्षको वित्तीय अवस्थाको बारेमा केही प्रक्षेपण गरेको छ । आव २०७८/७९ मा २६करोड रुपैयाँ सेयर पुँजी हुने र आगामी दुई आर्थिक वर्षमा पनि सेयर पुँजी यति नै हुने प्रक्षेपण रहेको छ ।

आव २०७८/७९ मा १८ करोड ९२ लाख ९९ हजार जगेडा कोषमा रहेको र आगामी आव २०७९/८० मा जगेडा कोषमा ३७ करोड ९१ लाख २२ हजार रुपैयाँ र आव २०८०/८१ मा ६४ करोड २१ लाख ९४ हजार रुपैयाँ हुने प्रक्षेपण रहेको छ ।

यस्तै आव २०७८/७९ मा ८ करोड ५ लाख ५२ हजार रुपैयाँ नाफा गरेको कम्पनीले आगामी आव २०७९/८० मा १९ करोड ७३ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गर्ने र आव २०८०/८१ मा २७ करोड ५ लाख ५ हजार रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।

आव २०७८/७९ मा १७२ रुपैयाँ ८१ पैसा प्रति सेयर नेटवर्थ रहेको कम्पनीले आव २०७९/८० मा २४५ रुपैयाँ ८२ पैसा र आव २०८०/८१ मा ३४७ रुपैयाँ प्रतिसेयर नेटवर्थ पुर्याउने लक्ष्य राखेको छ । यस्तै आव २०७८/७९ मा ३० रुपैयाँ ९८ पैसा रहने प्रति सेयर आम्दानी आव २०७९/८० मा ७५ रुपैयाँ ९० पैसा र २०८०/८१ मा १०४ रुपैयाँ ०४ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

यो कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकको ५ लाख ५० हजार कित्ता सेयर स्वामित्व छ । यस्तै प्रभु बैंकको ३ लाख कित्ता सेयर स्वामित्व रहेको छ भने नेपाल ग्रामिण विकास वित्तीय संस्थाको ७ लाख ५० हजार कित्ता सेयर स्वामित्व रहेको छ । कम्पनीको सीइओमा सुधीरप्रसाद लोहनी छन् ।


क्लिकमान्डु