सरकारी संस्थानले एक बर्षमा ५६ करोड रुपैयाँ नाफा बढाए, आयल निगमको नाफा सबैभन्दा धेरै




काठमाडौं । सरकारी स्वामित्वका ३५ संस्थानहरुले एक बर्षमा ५६ करोड नाफा बढाएका छन् । अर्थमन्त्रालयले आइतबार सार्बजनिक गरेको संस्थानहरुको प्रगति विवरणले यस्तो देखाएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार ३५ संस्थानमध्ये २३ वटा नाफामा र १२ वटा नोक्सानीमा चलेका छन् । यी संस्थानहरुले आर्थिक बर्ष २०७२/७३ मा ३४ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

अघिल्लो आर्थिक बर्षमा संस्थानहरुको खुद नाफा ३४ अर्ब ४० करोड रुपैयाँ थियो । संस्थानहरुले एक बर्षमा खुद नाफा १.६१ प्रतिशतले बढाएका हुन् । संस्थानहरुको नाफाको अबस्था सुधारोन्मुख रहेको अर्थमन्त्रालयको दाबी छ ।

आर्थिक बर्ष २०७२/७३ मा नेपाल आयल निगमले १९ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको छ । संस्थानहरुले गरेको धेरै खुद नाफामा निगम नै अग्रस्थानमा छ ।

यस्तै नेपाल दुरसंचार कम्पनी, नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक र नागरिक उड्डयन प्राधिकरण पनि नाफा गर्ने संस्थानको अगैपङ्तीमा छन् ।

खुद नोक्सानीमा रहेका संस्थानहरुमा सबैभन्दा बढी नोक्सानीमा नेपाल विद्युत प्राधिकरण छ । प्राधिकरणको खुद नोक्सानी ८ अर्ब ९० करोड रुपैयाँ छ । यस्तै उदयपूर सिमेन्ट उद्योग, नेसनल ट्रेडिङ्ग, नेपाल औषधि र जनक शिक्षा सामाग्री केन्द्र पनि नोक्सानीमै छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय बीमा संस्थान, जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी र हेटौडा सिमेन्ट उद्योग गत बर्ष नोक्सानीमा रहेकोले यसबर्ष संचालन नाफामा छन् । यस्तै गत बर्ष नाफामा रहेको खाद्य संस्थान यस बर्ष नोक्सानीमा पुगेको मन्त्रालयलको भनाइ छ ।


क्लिकमान्डु