सेयर बजारमा उछाल, समाउला बुलिस ट्रेन्ड ?



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा निकै उछाल देखिएको छ । निकै समय घटेको बजार आइतबार एकाएक बढोत्तरी देखिएको छ ।

लामो समयपछिको यो बढोत्तरीलाई लगानीकर्ताहरुले विभिन्न पक्षबाट विश्लेषण गरिरहेका छन् । केहीले यसलाई बजारले पुनः बुलिस ट्रेन्ड समाउने हो की भन्ने पक्षबाट पनि चर्चा सुरु गरेको छन् भने अहिले बिना कारण बढेको बजारको यो नै कारण हो भनेर निश्कर्ष निकाली हाल्न नहुने तर्क गरिरहेका छन् ।

लामो समयपछि नेप्से सूचकका साथै कारोबार रकममा आएको सुधारले धेरैलाई उत्साहित बनाएको छ । बजार मापन गर्ने सूचक ७३.०१ अंकले बढेर परिसूचक २७६५.४७ बिन्दुमा रोकिएको छ । यो दिन बजार २.७१ प्रतिशतले बढेको छ ।

२३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश लगानीकर्ताले यो दिन मनग्य कमाएका छन् । नेपाल हाईड्रो डेभलपर्स, हिमालयन उर्जा विकास कम्पनी, युनियन हाईड्रोपावर, मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबै समूहको उपसूचकमा उछाल देखिएको छ । कारोबार रकमको आधारमा अपी पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु