सुदूरपश्चिममा नबिल बैंकको उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका गाउँपालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएकोे हो ।

नबिल बैंकले बित्थडचिर गाउ“पालिका र आलिताल गाउँपालिकासंग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

साझेदारीमार्फत् गाउँपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीको उल्लेख्य संख्यामा उपस्थिती थियो । अन्तरक्रियाका अवधिमा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका भएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो ।

बैतडीको पञ्चेश्वर गाउँपालिकामा ८ दिने तालिम कार्यक्रम शुरु
बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धी ८ दिने तालिम कार्यक्रम शुरु भएको छ ।

कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो । यस कार्यक्रमले स्थानीय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई देशभित्रै युवा उद्यम प्रवर्द्धन तथा रोजगारी सिर्जनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ ।

पञ्चेश्वर गाउँपालिकाले युवा उद्यमका लागि आह्वान गरेको सूचनामा दरखास्त दिई छनौट भएका युवाहरु पुस ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने यस ७ दिने तालिम कार्यक्रममा १२० जना सहभागी थिए । तालिममा ४०० जनाले आवेदन दिएका थिए ।

नबिल बैंकले गत असार १५ गते धान दिवसका दिन नबिल दिगो बैंकिङको शुरुवात गरेको हो । नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रमको शुरुवात गरेको हो ।

कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासका लागि ल्याएका यी कार्यक्रम शुरुमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गर्दै आएको छ ।


क्लिकमान्डु