नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जरमा जाने सहमति, अड्चन नआए आगामी साता सम्झौता हुने



काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश(एनबी) बैंक मर्जरमा जाने करिब टुंगो लागेको छ ।

नबिल बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले एनबीसँग मर्जरमा जाने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । यद्यपि यो विषयको माइन्युट भने हुन बाँकी छ । यस्तै बिहीबार एनबी बैंकको सञ्चालक समितिको बैठक बस्न लागेको छ ।

एनबी बैंकको सञ्चालक समितिमा मर्जरको बारेमा निर्णय हुने स्रोतले जानकारी दिएको छ । एनबी बैंकको प्रमुख लगानीकर्ता बंगालदेशको आइएफआइसी बैंकले सेयर बिक्री गरेर बाहिरन लागेको छ ।

मर्जर सम्झौतासँगै एनबी बैंकमा रहेको आइएफआइसीको सेयर नबिल बैंकको प्रमुख लगानीकर्ता चौधरी ग्रुपले किन्ने छ । केही साता अगाडि नेपाल उद्योग परिसंघको कार्यक्रममा भाग लिन नबिल बैंकका सञ्चालक निर्वाण चौधरी बंगलादेश पुगेका थिए । बंगलादेश बैंकको साधारणसभापछि आएको सञ्चालक समितिको बैठक समेत बंगलादेशमा बसेको थियो ।

क्लिकमाण्डूलाई प्राप्त जानकारी अनुसार नबिल र एनबी बैंकबीच मर्जरको लागि सेयर स्वापदेखि लिएर सबै विषयहरु टुंगो लागेका छन् ।

नबिल बैंकले गतवर्ष युनाटइटेड फाइनान्सलाई एक्विजेशन गरेको थियो । स्थापनाकालदेखि नै आफ्नो हिसाबमा चलेको नबिल बैंकले व्यवसाय बढाउनको लागि मर्जर तथा एक्विजेशनमा प्राथमिकता दिन थालेको छ । आफ्नो समेत लगानी रहेको युनाइटेडलाई नबिल बैंकले ३५ रुपैयाँ स्वाप रेसियोमा गाभेको थियो ।

नबिल बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई ३८ प्रतिशत लाभांश दिएको छ । जुन साधारणसभाबाट पारित हुन बाँकी रहेको छ । नबिल बैंकले ३३.६ प्रतिशत बोनस सेयर दिएको छ । १३ अर्ब ८४ करोड चुक्ता पूँजी रहेको नबिल बैंकको बोनस सेयर दिएपछि चुक्ता पूँजी १८ अर्ब ४९ करोड हुन्छ ।

यस आधारमा नबिल बैंकलाई अरु संस्था मर्जर तथा एक्विजेशन नगर्ने हो भने लाभांश दिन समेत कठिन हुन्छ । एनबी बैंकको चुक्ता पूँजी अहिले १० अर्ब ८ करोड छ । केही दिनमा नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक समेत मर्जरमा जाने करिब टुंगो लागिसकेको छ । यो अनुसार पहिलो नम्बरको ताज जोगाउनको लागि नबिललाई मर्जर तथा एक्विजेशनको दबाब परेको हो ।


क्लिकमान्डु