भिटिज भिसाको दुरुपयोग भयो, सरकारले कडाइ गर्नुपर्छः सांसद



काठमाडौं । भिजिट भिसामा विकृति र विसंगति बढेको भन्दै कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् ।

आइतवार प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीहरुले दुःख पाउने गरेको भन्दै सांसदहरुले भिजिट भिसामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा बोल्दै सांसद रामेश्वर राय यादवले भिजिट भिसाको नाममा विदेश जानेहरुले कानूनी व्यवस्थापन राम्रो नहुँदा दुःख पाउने गरेको बताए ।
विदेश जान सहज नहुँदा भिजिट भिसामा विदेश जानेहरु बढेको भन्दै उनले विदेश जान नै सहज बनाउनुपर्ने बताए ।

विदेश जान सहज नहुँदा विभिन्न खालका आपराधिक घट्ना घट्ने गरेको उनको भनाइ छ । नेपाली कामदारहरुलाई आफुले गर्ने कामको बारेमा पुर्ण जानकारी हुनुपर्ने र दक्ष कामदार मात्र पठाउनुपर्नेमा उनले जोड दिए ।

सांसद अमृतादेवी अग्रहरिले योग्य नागरिक मात्र विदेश जानु वेश हुने धारणा राखिन् । भाषा तथा कामको प्रशिक्षण दिएर विदेश पठाउनुपर्ने उनको भनाइ छ ।

विदेश पुगेका नेपाली कामदारहरु दुतावास र घरमा समेत सम्पर्क गर्न नपाउने सम्मको अवस्था हुने गरेको भन्दै उनले सहजरुपमा सम्पर्क गर्नसक्ने ग्यारेन्टी हुनुपर्ने बताइन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले क्षमतावान कामदार पठाउन नसक्दा वैदेशिक रोजगारको व्यवसाय नै धरापमा परेको बताए । स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्दा वैदेशिक रोजगारीलाई नै प्रश्रय दिनुपर्ने उनको भनाइ छ ।
मन्त्रालयले सातै प्रदेशमा ट्रेनिङ सेन्टर सञ्चालन गर्न लागेको पनि उनले जानकारी दिए ।

‘क्षमतावान कामदार पठाउन नसक्दा हाम्रो वैदेशिक रोजगार व्यवसाय धरासयी भयो । विप्रेषण धेरै घटिरहेको छ । हामीले स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्ने हो भने वैदेशिक रोजगारीलाई नै हामीले प्रश्रय दिनुपर्छ । र क्षमतावान मेनपावर, प्रोफेसनल मेनपावर पठाउनुपर्छ । हाल सातै प्रदेशमा ट्रेनिङ सेन्टर स्थापना गर्न लागिरहेका छौँ । भिजिट भिसामा विकृति देखियो । यसलाई न्यूनिकरण गर्नुपर्छ,’ उनले भने ।

मन्त्रालयका सचिव अर्यालले भिजिट भिसालाई व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायहरु गृह मन्त्रालय, अध्यागमन, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, पर्यटन, श्रम मन्त्रालय लगायतका उच्च पदाधिकारीहरु बसेर देखिएका विकृति र विसंगती हटाउनुपर्ने बताए ।


क्लिकमान्डु