
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले सरकार परिवर्तनसँगै कार्यशैली पनि रूपान्तरण गर्नुपर्ने बताएका छन । नेपाल पर्यटन बोर्डमा मन्त्री पौडेललाई गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धि, नवप्रवर्द्धन र दिगो योजनामार्फत नेपाललाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने सबैको प्रतिबद्धता आवश्यक रहेको बताएका हुन।
मन्त्री पौडेलले नेपालको विकासका लागि पर्यटनलाई प्रमुख आधार भएको उल्लेख गर्दै भने, ‘अहिले सरकार फेरिएको छ, अब शैली पनि फेरिनुपर्छ । पर्यटन प्रवर्द्धनका परम्परागत स्वरुप र अभ्यासहरुबाट बाहिर निस्केर नवप्रवर्द्धनयुक्त अभियान सञ्चालन गर्नुपर्ने छ । त्यसका लागि आवश्यक नीतिगत सहयोग गर्न म तयार छु । यसका लागि पर्यटन बोर्ड पनि तयार रहनुपर्छ ।’
उनका अनुसार नेपालसामु रहेको अवसर ऐतिहासिक र अन्तिम चरणको जस्तो भएकाले अब परिणाममुखी काम गर्न आवश्यक छ । मन्त्री पौडेलले थपे, ‘सुरुमा केही कुराहरु असम्भवजस्तो लाग्न सक्छन् । तर, परिणाम निकालेर मुलुकको समग्र विकास गर्नुको विकल्प छैन । अहिलेको समाजले परिवर्तन परिणाममा खोजेको छ । त्यसकारण सामाजिक मनोविज्ञान र जनताको भावना बुझेर अघि बढ्नुपर्छ ।’
नीतिगत सहजीकरणका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै मन्त्री पौडेलले प्रतिशोधको राजनीति नगर्ने र काम गर्नेलाई प्रोत्साहन गर्नेसमेत बताएका छन् । ‘दोषलाई क्षमा र गुणलाई प्रशंसा गर्छु, तर आवश्यक परे कठोर निर्णय लिन पनि तयार छु,’उनले भने । उनले नेपालजस्तो सुन्दर देश गरिब हुन अभिशप्त हुन नहुने उल्लेख गर्दै दीर्घकालीन योजना निर्माणमा सरकार केन्द्रित हुने बताए ।
मन्त्री पौडेललाई स्वागत गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको समग्र संरचना, कार्यक्रम र नीतिगत दिशाबारे प्रस्तुति दिए । पर्यटन बोर्डले सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाललाई सशक्त रूपमा प्रवर्द्धन गर्ने रणनीति अघि सारिएको पनि सीईओ जोशीले जानकारी गराएका छन् । उनले भने, ‘सरकार र निजी क्षेत्रबीचको समन्वयलाई थप मजबुत बनाउँदै पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउने कार्यक्रम र योजना अनुसार अघि बढिरहेका छौं ।’
स्वागत कार्यक्रमम सीईओ जोशीले पर्यटन क्षेत्रका विभिन्न चुनौती र सुधारका एजेन्डाहरूबारे पनि मन्त्री पौडेललाई ब्रिफिङ गरेका हुन् । विशेषगरी ट्रेकिङ इन्फर्मेशन म्यानेजमेन्ट सिस्टम (टीआईएमएस) को प्रभावकारी कार्यान्वयन, निजी क्षेत्रसँग सहकार्य विस्तार, नेपाल पर्यटन बोर्डमा संरचनात्मक सुधारमा आवश्यक भएको बताए ।
उनले कार्यालय सुदृढीकरण तथा विस्तार, कर्मचारी र वित्तीय विनियमावली संशोधन जस्ता विषयलाई प्राथमिकतामा राखिएको पनि सीईओ जोशीले जानकारी गराएका छन् । त्यसैगरी मध्यपूर्व क्षेत्रमा विकसित संकटका बीच पर्यटन क्षेत्रलाई कसरी सुरक्षित र सन्तुलित रूपमा अघि बढाउने भन्ने विषयमा पनि छलफल भइरहेको सीईओ जोशीले जानकारी दिए ।








प्रतिक्रिया