राष्ट्र बैंकले ७ दिनभित्र ५२ अर्ब रुपैयाँ बजारमा पठाउने, तरलता सहज हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले यो हप्ता ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५२ अर्ब रुपैयाँ पुनरकर्जा अन्तर्गतको पैसा पठाउने जानकारी दिए ।

आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा गभर्नर अधिकारीले मंगलबार मात्रै पुनरकर्जा अन्तर्गत ९२ अर्ब रुपैयाँ स्वीकृत भएको जसमा ५२ अर्ब रुपैयाँ यो हप्ता बैंकिङ प्रणालीमा पठाउने जानकारी दिए ।

सरकारले गरेको निर्णयले पनि ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा थपिने छ । बैंकहरुमा रहेको स्थानीय तहको कोषको रकम ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न दिने व्यवस्था अर्थमन्त्रालयले गरेको थियो । जसबाट ५० अर्ब तरलता थपिने छ ।

‘९२ अर्ब रुपैयाँ पुनरकर्जा स्वीकृत भएकोमा यो हप्ता ५२ अर्ब रुपैयाँ र एक महिनाभित्रमा ४२ अर्ब रुपैयाँ बजारमा जाने छ,’गभर्नर अधिकारीले भने ।

उनले नचाहिने सामान आयात भएकोले राष्ट्र बैंकले कडाइ गरेको जानकारी दिए ।

आयातमा भएको ठूलो बृद्धिले कर्जाको माग बढेको र निक्षेप नबढेको हुँदा राष्ट्र बैंकले आवश्यक नहुने वस्तुको आयातमा कडाइ गरेको गभर्नर अधिकारीको भनाइ छ ।

राष्ट्र बैंकले पुँजी कर्जा निक्षेप अनुपात(सीसीडी) हटाएर कर्जा निक्षेप अनुपात(सीडी)मा लगेर लिबरेज रेसियोलाई लयमा ल्याउन व्यवस्था गरेको बताए ।

सीसीडीको ८० प्रतिशत व्यवस्था छाडेको यथावत राखेको भए ६ प्रतिशतको नन कम्लाइन रेसियो रहेकोमा सीडीमा गएपछि २ प्रतिशतमा झरेको छ ।

‘सीसीडीबाट सीडीमा गएर राष्ट्र बैंकले झनै सहुलियत दिएको हो,यो नीतिको विरोध किन भएको छ म आफैले बुझ्न सकेन,’ गभर्नर अधिकारीले थपे ।


क्लिकमान्डु