असोज र कात्तिकमा ब्याजदर बढाउने बैंकलाई फाइदा, निक्षेपसँगै ऋणपनि बढ्यो



काठमाडौं । असोज र कात्तिक महिनामा ब्याजदर बढाउने बैंकलाई ऋण बढाउन फाइदा भएको देखिएको छ ।

असोज महिना र कात्तिकको २ दिन ब्याजदर बढाउने बैंकलाई व्यवसाय बढाउन फाइदा भएको छ । सनराइज बैंकले असोजमा बढाएको ब्याजदरको लाभ कातिकमा पाएको छ ।

कात्तिकमा धेरै कर्जा प्रवाह गर्ने ५ वटा बैंक भित्र सनराइज बैंक पनि परेको छ । बैंकमा तरलता अभाव भएपछि असोजमा बैंक ब्याजदर बढाएको थियो ।

कात्तिक महिनामा बैंकले ४ अर्ब २ करोड रुपैयाँले कर्जा लगानी बढाएको छ । कात्तिकसम्म सनराइज बैंकले बैंकले १ खर्ब २२ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

कात्तिकमा बैंकको कर्जा बढेपनि निक्षेप घटेको छ । असोजमा ब्याजदर बढाएपनि सनराइजले कात्तिक महिनामा ब्याजदर घटाएको थियो ।
कात्तिकमा सनराइज बैंकको निक्षेप ३ अर्ब ७१ करोड रुपैयाँले घटेर १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

ब्याजदर बढाएर लाभ लिनेमा हिमालयन बैंक र लक्ष्मी बैंक पनि हुन् । यी बैंकले कात्तिकमा बढाएको ब्याजको राम्रो लाभ लिएका छन् ।
असोजको तुलनामा कात्तिकमा हिमालयन र लक्ष्मी बैंकले ब्याजदर निकै बढाएका छन् । हिमालयन बैंकले असोजमा ८.५ प्रतिशत ब्याज दिएकोमा कात्तिकमा बढाएर १०.५ प्रतिशत पुर्याएको थियो । यस्तै लक्ष्मी बैंकले पनि असोजमा ८.५ प्रतिशत रहेको ब्याज कात्तिकमा ११.०५ प्रतिशत पुर्याएको थियो । त्यसको प्रत्यक्ष प्रभाव कात्तिकमा प्रवाह हुने कर्जा र संकलन भएको निक्षेपमा देखिएको छ ।

कात्तिकमा हिमालयन बैंकले १४ अर्ब ६० करोड रुपैयाँ बढी निक्षेप बजारबाट उठाएको छ । असोजको तुलनामा कात्तिकमा बढी अन्तरमा निक्षेप उठाउने बैंक हिमालयन रहेको छ । बैंकको ब्याजदरको कारण पनि निक्षेपमा निक्षेपकर्ताको आकर्षण देखिएको छ । कात्तिकमा बैंकले १ खर्ब ६५ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै कर्जा प्रवाह पनि ६ अर्ब ७ करोड रुपैयाँले बढेको छ । कात्तिकमा बैंकले १ खर्ब ५१ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस्तै लक्ष्मी बैंकले बढाएको ब्याजको लाभ कात्तिकमा लिएको छ । कात्तिकमा बैंकको निक्षेप ४ अर्ब ५७ करोड रुपैयाँले बढेको छ भने कर्जा विस्तार पनि ४ अर्ब ४३ करोड रुपैयाँले बढेको छ । बैंकले यो महिना १ खर्ब २५ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै कात्तिक महिनामा १ खर्ब २१ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।


क्लिकमान्डु