पाँच तारे होटल हायात प्लेस सञ्चालनमा आयो, ५ अर्ब लगानी



काठमाडौं । काठमाडौंको ताहचलमा पाँच तारे होटल हायात प्लेस सञ्चालनमा आएको छ ।

शनिबार एक कार्यक्रम गर्दै होटल सञ्चालनमा आएको जानकारी दिइएको छ ।

होटलका सञ्चालक पवन गोल्यानले आजदेखि होटल सञ्चालनमा आएको बताए ।

२०७२ सालमा भूकम्पपछि अपार्टमेन्ट निर्माण गर्ने योजनालाई त्यागेर होटल बनाउने निर्णय गरिएको थियो । १० रोपनी क्षेत्रफलमा फैलिएको होटलसँगै अर्को भवन पनि छ । जुन अपार्टमेन्टका रुपमा प्रयोग गरिएको छ ।

शुरुमा ४ अर्ब लगानी गर्ने योजना भए पनि कोरोना महामारीका कारण निर्माणले गति नलिँदा रकम बढेर करिब ५ अर्ब रुपैयाँ पुगेको होटलका अध्यक्ष शक्ति गोल्यानले बताए ।

हायत अन्तर्राष्ट्रिय चेन होटल हो । यसको मुख्य कार्यालय अमेरिकाको सिकागोमा रहेको छ । यसका संसारभर १ हजारभन्दा बढी होटल सञ्चालनमा छन् । यो होटलको सञ्जाल विश्वका ६९ वटा देशमा फैलिएको छ ।

होटल व्यवस्थापनको जिम्मा हायात प्लेसले लिएको छ । सन् २०१६ देखि निर्माण शुरु भए पनि कोरोना महामारीका कारण निर्माणको काम लम्बिएको थियो ।

सञ्चालक पवन गोल्यानले होटलले ५ वर्षमा ब्रेकइभनमा आउने बताए ।

होटलमा १५३ वटा कोठा छन् । जसमा ३ वटा स्वीट रुम छन् भने १५० वटा स्ट्यान्डर्ड रुम छन् । त्यसमध्ये पनि ७ वटा रुममा टेरेसको सुविधा पनि छ ।

विशेष गरी ट्राभलरहरुका लागि होटल लक्षित गरिएको छ ।

भवनको २ तला बेसमेन्ट छ । जुन पार्किङका लागि छुट्याइएको छ । त्यसपछिको तलामा लबी छ । जहाँ नेपालीपन झल्कने गरी कलाकृति देख्न सकिन्छ । लबीसँगै रेष्टुराँ र कन्फ्रेन्स हल पनि छ । कन्फ्रेन्स हलमा ४ सय जनासम्म अटाउन सक्छन् ।

साथै होटलको पहिलो तला सर्भिसका लागि हुनेछ भने दोस्रो तलामा स्वीमिङसँगै रेष्टुराँ र बारको सुविधा छ । जहाा केटाकेटीदेखि वयस्कसम्मका लागि लक्षित गरिएको छ ।

त्यसभन्दा माथिका तलाका रुमहरु पाहुनाका लागि हुनेछन् । ७ वटा टेरेससहितका रुममा हरियाली गार्डेनको सुविधा हुनेछ । प्रत्येक रुम ३० वर्गफिट क्षेत्रफलमा फैलिएका छन् । टेरेससहितका रुमहरु ४८ वर्गफिट क्षेत्रफलमा फैलिएका छन् ।


क्लिकमान्डु