अभाव र मूल्यवृद्धिबीच यूरोपमा ग्यास आपूर्ति रोक्ने बेलारुसको चेतावनी



एजेन्सी । यूरोपमा पछिल्ला दिनमा आप्रवासी संकट चुलिएको छ । त्योभन्दा पनि ठूलो संकटका रुपमा त्यहाँको ग्यासको आपूर्ति प्रणालीलाई लिएर भएको छ ।

लगातार बढीरहेको ऊर्जाको मूल्यवृद्धि तथा त्यसले समग्र क्षेत्रलाई पार्ने प्रभावका बारेमा अन्तर्राष्ट्रिय रुपमा चासो र चिन्ता बढिरहेको छ ।

विशेषगरी यूरोपको ग्यास रसियाबाट आपूर्ति हुने गरेको छ । रसियाले पश्चिमा देशलाई ३३ विलियन क्यूविक मिटर बराबरको ग्यास आपूर्ति गर्ने गरेको छ । ग्यासका पाइपलाइन बेलारुस हुँदै जान्छ ।

आप्रवासी संकटका बीचमा बेलारुसले यूरोपको पाइपलाइनको विषय उठाइदिएको छ । विशेषगरी स्टोनिया, फिनल्याण्ड, लिथुवानिया, स्लोभाकिया, बुल्गेरिया, हंगेरी र स्लोभानियामा शतप्रतिशतरुपै रसियाको प्राकृतिक ग्यास प्रयोग हुँदै आएको छ ।

पोल्याण्डमा मात्रै ३३ विलियन क्युविक मिटर बराबरको ग्यास उपलब्ध हुने गरेको छ । रसियाले ग्यास आपूर्तिको मात्रा बढाएको छ । विशेषगरी पोल्याण्ड बेलारुस र युक्रेनमा समेत आपूर्ति बढेको छ ।

शरणार्थी मामिलामा आफूमाथि अन्याय गरे यूरोपेली संघले आपूर्ति गरिरहेको ग्यास पाइपलाइनबारे सोच्नुपर्ने बेलारुसको भनाइ छ । यतिबेला पोल्याण्ड र बेलारुसको सीमामा इराक, सिरिया र यमनबाट आएका झण्डै २ हजार शरणार्थी छन् ।

यूरोपेली संघले शरणार्थीलाई आश्रय नदिएको भन्दै बेलारुसप्रति आपत्ति जनाएको छ । चिसो बढेको र हिमपात समेत भइरहेका बेला कुनै पनि आश्रय नदिएर मानवीय व्यवहार नगरेको भन्दै यूरोपेली संघले बेलारुसमाथि प्रतिबन्ध लगाउने जनाएको छ ।

यसअघि पनि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियादेखि जर्मनीसम्मको प्राकृतिक ग्यास आपूर्ति गर्न निर्माणका क्रममा रहेका ग्यास पाइपलाइन रोक्ने ध्येय राखेका थिए । उनले रसियाली कम्पनीमाथि प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गरेका थिए ।

खासगरी बाल्टिक सागरमा ११ अर्ब डलरको लागतमा निर्माणाधिन नर्डस्ट्रिम टु पाइपलाइनको निर्माणपछि यूरोपको शक्तिशाली अर्थतन्त्र भएको जर्मनीमा रसियाले ग्यास आपूर्ति दोब्बर बनाउने लक्ष्य राखेको थियो । सो विषयमा अमेरिका र जर्मनीबीच विवाद चुलिएको थियो ।

यतिबेला विवाद शरणार्थी मामिलामा आएर देखिएको छ । नर्ड स्ट्रिम नाम दिइएको रसिया जर्मनी पाइप लाइन १२३० किलोमिटर लामो छ । बाल्टिक सागर भएर जाने सो पाइपलाइनमा दुई वटा समानान्तर पाइप छन् ।

त्यसबाट वार्षिक ११० विलियन क्युविक मिटर ग्यास आपूर्ति हुनेछ । यसअघि मात्रै ५५ क्युविक मिटर मात्रै आपूर्ति भइरहेको थियो । पाइपलाइन रसिया, जर्मनी, डेनमार्क, फिनल्याण्ड र स्वीडेनसम्म पुग्नेछ ।

अर्को छ, रसिया बेलारुस हुँदै पोल्याण्ड पुग्ने एमला यूरोप ग्यास पाइपलाइन । यतिखेर देखिएको विवादको केन्द्र भनेको बेलारुस हो । यो परियोजना सन् १९९२ मा शुरु भएको हो । १९९७ देखि लगातार ग्यास आपूर्ति भइरहेको छ ।

सो पाइपलाइन ४ हजार १०७ किलोमिटर लामो रहेको छ । रसियाको भूभागमा ४०२ किलोमिटर, बेलारुसमा ५७५ किलोमिटर र पोल्याण्डमा कूल ६८३ किलोमिटर बराबरको पाइपलाइन छ ।

बेलारुसका नेता अलेक्जेण्डर लुकान्सेले यूरोपको प्रतिबन्ध आफुहरु माथि थोपरिए जवाफ दिनुपर्ने बताएका छन् । बेलारुस हुँदै यूरोपेली देशमा जाने गयास आपूर्ति रोक्ने चेतावनी समेत उनले दिएका छन् । उनले पोल्याण्ड, लिथुआनियाका नेतृत्वले सोचोस्, ग्यास आपूर्ति रोक्नु नपरोस् भनेका छन् ।

उनको भनाइले यूरोपमा अहिले नै अभाव रहेको ग्यासका सन्दर्भमा नयाँ चिन्ता थपिएको छ । ग्यासको मूल्य बढेको तथा नपाइएको अवस्था आपूर्ति नै रोकिएपछि त्यसले पार्ने प्रभाव असाध्यै ठूलो हुनेछ ।


क्लिकमान्डु