एकपटक चार्ज गर्दा २०० किलाेमिटर गुड्ने विद्युतीय स्कुटर सार्वजनिक



एजेन्सी । विद्युतीय सवारी साधनको एकपछि अर्को गर्दै प्रबर्द्धन गरिरहेको भारतमा नयाँ नयाँ कम्पनीले नयाँ–नयाँ मोडलका विद्युतीय सवारी साधन सार्वजनिक गरिरहेका छन् ।

केही दिन पहिले ओलाले विद्युतीय स्कुटर सार्वजनिक गरेको थियो । त्यसको धमाधम टेस्ट ड्राइभ समेत भइरहेको छ । प्रयोगकर्ताले ओलाको स्कुटर असाध्यै राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

यस्तै पछिल्ला दिनमा पुनः थप २ नयाँ मोडलको विद्युतीय स्कुटर सार्वजनिक भएको छ । एकपटक चार्ज गर्दा १०० किलोमिटर बराबर गुड्ने ती स्कुटरको खास मूल्य भारतीय बजारमा ८९ हजार ९९९ भारु रहेको छ ।

बुम मोटर्सले ती २ नयाँ मोडल सार्वजनिक गरेको हो । स्कुटरको नाम कार्बेट १४ र कार्बेट १४ इएक्स राखिएको छ । कम्पनीका अनुसार भारतमा सबैभन्दा बढी टिकाउ मोडलको स्कुटर नै आफूहरुको भएको बताएको छ । कार्बेट १४ को मूल्य ८९ हजार ९९९ छ ।

यस्तै कार्बेट १४ इएक्सको मूल्य १ लाख १९ हजार ९९९ भारु रहेको छ । कम्पनीले आज शुक्रबारदेखि बुकिङ समेत खुला गरेको छ । कूल ४९९ भार जम्मा गरेर स्कुटर खरिदका लागि बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

कार्बेट १४ इएक्स एकपटक चार्ज गरेपछि २०० किलोमिटरसम्म गुड्न सक्छ । त्यसमा दुई फरक–फरक ब्याट्री राखिएको छ । त्यसको गति समेत फरक फरक रहेको छ ।

कार्बेट १४ मा २.३ किलोवाट आवर बराबरको ब्याट्री राखिएको छ । यसको अधिकतम गति ६५ किलोमिटर प्रतिघण्टा रहेको छ । यस्तै, कार्बेट १४ इएक्सको गति अधिकतम ७५ किलोमिटर प्रति घण्टा रहेको छ ।

दुबै स्कुटर पोर्टेबल चार्जरले चार्जा हुनसक्छ । कुनै पनि घरेलु सकेटमा मिलाएर चार्ज गर्न सकिन्छ । यो स्कुटरले २०० केजी बराबरको भार बहन गर्न सक्छ ।

सो स्कुटर खरिद गर्नेले मासिक १ हजार ६९९ भारु किस्ता तिर्दा हुनेछ । कम्पनकिो चेसिसमा ७ वर्ष र व्याट्रीमा ५ वर्षको वारेन्टी छ । कम्पनीको कोयावन्तुरस्थित कारखानामा १ वर्षमा कूल १ लाख स्कुटर तयार पारिने भएको छ ।

भारतमा अन्य कम्पनीले समेत विद्युतीय स्कुटरको उत्पादन थालेका छन् । यसबाट इन्धनको मूल्यवृद्धिका कारण समस्यामा परेकालाई उपयुक्त उपाय प्रदान गर्नेछ ।


क्लिकमान्डु