बैंकमा पैसाको हाहाकार, सरकारी ढुकुटी खर्च नगरेर भरियो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु अहिले ऋण दिन नसक्ने स्थितीमा छन् ।

बैंकहरुसँग ऋण दिन सक्ने पैसा भनेको जम्मा साढे ५ अर्बमात्र हो ।

अत्याधिक आयातको कारण शोधानान्तर घट्दै जानु,रेमिटेन्स बृद्धि हुन नसक्नु तथा सरकारको खर्च नभएपछि बैंकमा ऋण दिने पैसा सकिएको हो ।
अर्थमन्त्रीले जनार्दन शर्माले २ सय प्रतिशतले राजस्व बढाउने भाषण गर्दै हिडेका छन् ।

राजस्वमात्र संकलन गर्ने र खर्च नगर्ने सरकारको शैलीले अहिले बैंकमा तरलताको अभाव भएको छ । अर्थमन्त्री शर्माले शुक्रबार तरलता अभावको विषयमा कुरा गर्न वाणिज्य बैंकका सीइओलाई बैठकमा बोलाएका छन्। २७ वटा वाणिज्य बैंकसँग अर्थमन्त्री शर्माले छलफलमा बोलाएका हुन् ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले कात्तिक २५ सम्म ३ खर्ब २५ अर्ब राजस्व संकलन गरेको छ । अन्य आम्दानी २५ अर्ब छ । यसरी सरकारले ३ खर्ब ४२ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

सरकारले ३ खर्ब ४२ अर्ब आम्दानी गरेपनि खर्चजम्मा २ खर्ब ७७ अर्ब गरेको छ । जसमा चालु तर्फ २ खर्ब २४ अर्ब तथा बैंकमा निक्षेप बढाउन मद्दत गर्ने विकास खर्च भने २० अर्ब गरेको छ । वित्तीय व्यवस्था अन्तर्गत ३३ अर्ब खर्च गरेको छ ।

चालु आर्थिक वर्षको सरकारको आम्दानी र खर्चको हिसाबमा सरकार अहिले ६५ अर्ब रुपैयाँ बचतमा छ । अघिल्लो वर्षको बचतको आधारमा सरकारसँग २ खर्बभन्दा बढी रकम मौज्जात छ ।


क्लिकमान्डु