बैंकसँग ऋण दिने पैसा जम्मा साढे ५ अर्बमात्रै, मंसिरदेखि ब्याज बढ्ने



काठमाडौं । वाणिज्य बैंकहरुसँग ऋण दिनसक्ने रकम जम्मा साढे ५ अर्ब रुपैयाँ रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक २२ गतेसम्म ४२ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप छ । तिहार विदा हुनुभन्दा अघि कात्तिक १७ गतेसम्म बैंकहरुमा ४२ अर्ब ४० अर्ब निक्षेप थियो ।

बैंकहरुले कात्तिक २२ गतेसम्म ४० खर्ब २२ अर्ब रुपैयाँ कर्जा दिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको सीडी रेसियो ८९.८७ प्रतिशत छ । यस आधारले हेर्दा बैंकहरुमा कर्जा दिनसक्ने रकम जम्मा साढे ५ अर्ब रुपैयाँ रहेको छ ।

बैंकहरुले मंसिरदेखि लागू हुने गरेर ब्याजदर बढाउने तयारी गरेका छन् । अहिले बैंकहरुले एकवर्षे मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९.३६ प्रतिशत छ । राष्ट्र बैंकले १० प्रतिशतभन्दा ब्याजदर बढाउन नपाइने व्यवस्था लागू गरेको छ ।

बैंकहरु कात्तिक १ गतेदेखि ब्याजदर युद्धमा उत्रिएपछि राष्ट्र बैंकले बढेको ब्याजदर घटाउन तथा ९.३६ प्रतिशतभन्दा बढी ब्याजदर नलिनका लागि समेत अनौपचारिक आग्रह गरेको थियो ।

राष्ट्र बैंकको ब्याजदर बढाउन पाउने नियम अनुसारै मंसिरदेखि बैंकहरुले एकवर्षको मुद्दति निक्षेपको ब्याजदर १०.३० प्रतिशतसम्म बनाउने छन् ।

राष्ट्र बैंकले ब्याजदर युद्धमा गरेको हस्तक्षेपपछि बैंकहरुमा अहिले नयाँ निक्षेप थपिने र ऋण प्रवाह करिब ठप्प जस्तै छ ।


क्लिकमान्डु