बैंकसँग कर्जा दिन सक्ने क्षमता झन घट्यो, लगानीयोग्य रकम १४ अर्ब ४१ करोड मात्रै !



काठमाडौं । बैंक तथा वित्तीय संस्था ऋणीलाई कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् ।

बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) अभावहुँदा वाणिज्य बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।

अहिले बैंकमा तरलता अभाव चुलिएसँगै कर्जा लगानी गर्न बैंकहरु असमर्थ बनेका हुन् । अहिलेसम्म बैंकमा लगानी गर्न सक्ने वा कर्जा दिन सक्ने रकम १४ अर्ब ४१ करोड रुपैयाँ मात्रै रहेको छ ।

यो रकमले पहिला नै कबोल ऋण दिन नसक्ने, रिसेड्युलिङ समेत गर्न बैंकलाई हम्मेहम्मे पर्न थालेको छ । यो परिस्थितीमा नयाँ कर्जा दिन बैंकलाई झनै समस्या हुनेछ ।

बैंकमा लगानीयोग्य रकम कम हुँदै जाँदा बैंकिङ प्रणाली क्रमशः ठप्प हुने अवस्थामा पुगेको छ ।

प्रणालीमा पैसा नहुँदा बैंकहरुले पहिला नै कमिटमेन्ट गरेको ऋण प्रवाहमा समेत समस्या शुरु हुन थालेको बैंकर्सहरु बताउन थालेका छन् ।

‘केही समय अघिदेखिनै प्रणालीमा रकम अभाव हुँदा बैंकहरुले रिसेड्युलिङ समेत गर्न सकेको छैनन् भने उद्योगीहरुले पनि बैंकले पहिला दिने भनेर कबोल गरेको कर्जा दिन नसकेको गुनासो गरिरहेका छन् । अब यो समस्या झनै बढ्ने सम्भावना छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी) रेसियोलाई हटाएर कर्जा–निक्षेप अनुपात (सीडी) रेसीयो लागू गरेको छ ।

यसले बैंक तथा वित्तीय संस्थाको कर्जा क्षमता घटाएको थियो । बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो २०७९ असार मसान्तसम्म ९० प्रतिशत कायम गरिसक्नु पर्ने राष्ट्र बैंकको निर्देशन छ ।

तर असोज मसान्तसम्म आइपुग्दा नै बैंकहरुको औसत रेसियो ८८.७४ प्रतिशत पुगिसकेको छ ।

असोज मसान्तसम्म आइपुग्दा ८ वटा बैंकको रेसियो ९० प्रतिशतभन्दा बढेको छ ।

जसमा नेपाल इन्भेष्टमेन्ट बैंकको सीडी रेसियो ९५.३७ प्रतिशत पुगेको छ भने नेपाल एसबीआई बैंकको ९५.०८ प्रतिशत, हिमालयन बैंकको ९३.५४ प्रतिशत, कु्मारी बैंकको ९२.१३ प्रतिशत, एनएमबि बैंकको ९१.२७ प्रतिशत, मेगा बैंकको ९१.२१ प्रतिशत, बैंक अफ काठमाण्डूको ९०.४८ प्रतिशत र प्राइम बैंकको ९०.२५ प्रतिशत पुगेको छ ।

यी बैंक कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । अहिले यी मात्रै होइन प्रणालीमा पैसाको अभाव हुँदा सबै बैंकलाई कर्जा लगानीमा समस्या सृजना भएको छ ।

सीडी रेसियो ९० प्रतिशत कायम गर्नु भनेको बैंकहरुले १ सय रुपैयाँ निक्षेप संकलन गर्दा ९० रुपैयाँ कर्जा लगानी गर्न र १० रुपैयाँ राख्ने भन्ने हो ।

बाँकी १९ वटा बैंकको सीडी रेसियो भने ९० प्रतिशत भन्दा कम रहेको छ ।

प्राप्त तथ्याङक अनुसार कृषि विकास बैंकको ८८.९९, सेञ्चुरी बैंकको ८८.७०, सिटिजन्स बैंकको ८७.३९, सिभिल बैंकको ८७.९४, एभरेष्ट बैंकको ८६.३९, ग्लोबल आइएमई बैंकको ८९.१४, लक्ष्मी बैंकको ८८.९४, माछापुच्छे« बैंकको ८८.१०, नबिल बैंकको ८८.६४, नेपाल बंगलादेश बैंकको ८७.३८, नेपाल बैंक ८६.२३ प्रतिशत पुगेको छ ।

यस्तै एनसीसी बैंकको ८९.९६, एनआईसी एसिया बैंकको ८५.३२, प्रभु बैंकको ८२.६४, राष्ट्रिय वाणिज्य बैंकको ८५.११, सानिमा बैंकको ८५.२५, सिद्धार्थ बैंकको ८७.७५, स्टयान्डर्ड चार्टर्ड बैंकको ८८.०६ र सनराइज बैंकको सिडी रेसियो ८४.६५ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु