विद्युतीय भुक्तानी: भदौमा वालेटमार्फत् करिब १४ अर्ब र क्यूआरबाट करिब ६ अर्बको कारोबार



काठमाडौं । पछिल्लो समय विद्युतीय भुक्तानीमा प्रयोगकर्ताको आकर्षण देखिएको छ । प्रयोगकर्ता बढेसँगै विद्युतीय भुक्तानीको कारोबार संख्या र रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा मात्रै वालेटबाट १ करोड ३२ लाखभन्दा बढी पटक कारोबार हुँदा १४ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको छ । साथै, १५ लाख ७७ हजारभन्दा बढी पटक क्यूआर कोड स्क्यान गरी ५ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यसका साथै इ–कमर्श कम्पनीको व्यवसायमा पनि उछाल देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ महिनमा ई–कमर्श कम्पनीमा ६६ हजार १३७ पटक कारोबारबाट ४५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यद्यपि यो अघिल्लो वर्षकोसोही अवधिको तुलनामा भने कम हो । गत वर्ष कोरोना महामारीका कारण लकडाउन लागू हुँदा प्रयोगकर्ताहरु अनलाइनमार्फत् बढी कारोबार गरेका थिए ।

साथै, मोबाइल बैंकिङबाट समेत ७४ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ । भदौ महिनामा १ करोड ३२ लाखभन्दा बढी पटक मोबाइल बैंकिङबाट कारोबार भएको थियो ।


क्लिकमान्डु