तीन महिनामा करिब साढे ५ खर्बको वैदेशिक व्यापार, ४ खर्ब बढीको व्यापारघाटा

133
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा करिब साढे ५ खर्ब मूल्य बराबरको वैदेशिक व्यापार गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोज मसान्तसम्ममा नेपालले ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जुन हालसम्मकै उच्च हो ।

गत वर्ष सोही अवधिमा नेपालले ३ खर्ब २३ अर्ब ३१ करोड ५९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको तुलनामा चालु आवमा ६८.१३ प्रतिशतले वैदेशिक व्यापार बढी गरेको छ ।

चालु आवको पहिलो ३ महिनामा नेपालले हालसम्मकै उच्च आयात निर्यात गरी इतिहास कायम गरेको छ । असोजसम्ममा नेपालले ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

सोही अवधिमा नेपालले आर्थिक वर्ष २०७७÷७८ को तीन महिनाको अवधिमा २ खर्ब ९२ अर्ब २६ करोड ९८ लाख रुपैयाँको मात्रै आयात गरेको थियो । जसमा चालु आवमा गत वर्षको तुलनामा ६३.७३ प्रतिशतले आयात बढेको देखिन्छ ।

त्यसैगरी, पौने ४ खर्ब बढी आयात गर्दा नेपालले ६५ अर्बको वस्तु निर्यात गर्न सफल भएको छ । तीन महिनाको अवधिमा नेपालले ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । सोही अवधिमा गत वर्ष नेपालले ३१ अर्ब ४ करोड ६० लाख रुपैयाँको मात्रै निर्यात गरेको थियो । जसमा गत वर्षको तुलनामा चालु आव १०९.५४ प्रतिशतले निर्यात बढेको छ ।

त्यस्तै, उच्च रुपमा आयात निर्यात गरेको नेपालले पहिलो तीन महिनामै उच्च व्यापारघाटा व्यहोरेको छ । नेपालले करिब साढे ५ खर्बको वैदेशिक व्यापार गर्दा तीन महिनाको अवधिमै ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो । सो अवधिमा भएको व्यापारघाटा हालसम्मकै उच्च हो ।

गत वर्ष सोही अवधिमा नेपालले ३ खर्ब बढीको वैदेशिक व्यापार गर्दा २ खर्ब ६१ अर्ब २२ करोड ३७ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । नेपालले गत आवको सोही अवधिको तुलनामा चालु आव ५८.२८ प्रतिशतले व्यापारघाटा बढेको तथ्याङकले उल्लेख गरेको छ ।

साथै, नेपालले क४ खर्ब बढीको वस्तु आयात गर्दा १ खर्ब २९ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ भन्सार महशुल संकलन गरेको छ ।

नेपालमा तीन महिनाको अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको छ । उक्त अवधिमा नेपालले २३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँको बराबरको ३ लाख ३२ हजार किलोलिटर डिजेल आयात गरेको छ ।

त्यसैगरी, कच्चा भट्मासको तेल २० अर्ब ६० करोड ६० लाख रुपैयाँ बराबरको १३ करोड २७ लाख ९९ हजार लिटर आयात गरी दोस्रो नम्बरमा रहेको छ ।

साथै, तीन महिनाको अवधिमा १७ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बराबरको मोबाइलफोन, १३ अर्ब ४ करोड ५३ लाख रुपैयाँ बराबरको कच्चा १२ पाम आयल, १२ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ बराबरको पेट्रोल, १२ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ बराबरको आइरन, स्टील, १२ अर्ब १८ करोड १० लाख रुपैयाँ बराबरको एलपीजी ग्यास, ११ अर्ब ७ करोड बराबरको सुन र १० अर्ब १७ करोड १४ लाख रुपैयाँ बराबरको चाँदी आयात भएको भन्सार विभागको तथ्याङकले देखाउँदछ ।

Skip This