बेमौसमी वर्षाका कारण सवा ८ अर्बको धानबाली क्षति, २ लाख ८५ हेक्टर क्षेत्रफलमा असर



काठमाडौं । असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षका कारण देशभर सवा ८ अर्ब रकम बराबरको धानबालीको क्षति भएको छ । कृृषि तथा पशुपन्छी मन्त्रालयकाअनुसार ७ वटा प्रदेशमा ८ अर्ब २६ करोड ८० लाख रुपैयाँको क्षति भएको जनाएको छ ।

मन्त्रालयले ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमा क्षति पुग्दा ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धानबालीमा क्षति पुगेको छ । साथै, सातै प्रदेशमा २लाख ८५ हजार ५ सय ९ हेक्टर क्षेत्रफलमा बाढीले असर पुर्याएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा अविरल वर्षाका कारण ४९ हजार ९ सय ४५ हेक्टर क्षेत्रफलमा असर पुग्दा ७ हजार ४ सय ९२ क्षेत्रफलको धानबालीमा क्षति पुर्याएको छ । कुल क्षेत्रफलमा २५ हजार ४ सय ६९ मेट्रिक टन अर्थात् ८० करोड रुपैयाँ बराबरको क्षति व्यहोरेको छ । सो प्रदेशमा सबैभन्दा बढी झापा, मोरङ र सुनसरीमा भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा ५ हजार ३ सय ५५ हेक्टर क्षेत्रफलमा क्षति हुँदा २० हजार ३ सय ५० मेट्रिक धानमा क्षति पुगेको छ । साथै, ४८ हजार ६ सय ८४ हेक्टर क्षेत्रफलमा असर पुग्दा ५६ करोड रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्कले देखाउँदछ । सो , प्रदेशमा सबैभन्दा बढी सिराहा र सर्लाहीमा क्षति भएको छ ।

मन्त्रालयको विवरणअनुसार बेमौसमी वर्षाले सबैभन्दा कम बाग्मति प्रदेशमा क्षति भएको उल्लेख छ । जसमा सो प्रदेशमा साढे ७ हजार हेक्टर क्षेत्रफलमा असर पुग्दा ५ सय ३० हेक्टर क्षेत्रफलमा मात्रै क्षति भएको छ । साथै, बेमौसमी वर्षाले २ हजार ६८ मेट्रिक टन धानबालीमा नष्ट हुँदा ५ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ । उक्त जिल्लामा सबैभन्दा बढी चितवन र नुवाकोटमा भएको मन्त्रालयको भनाई छ ।

गण्डकी प्रदेशमा १३ करोड बराबरको क्षति भएको छ । उक्त प्रदेशमा ८ हजार ३०४ हेक्टर क्षेत्रफलमा असर पुग्दा १ हजार १ सय ९२ हेक्टर क्षेत्रफलमा उत्पादन भएको ४ हजार ५ सय ३० मेट्रिकटन धानबाली नाश भएको छ । सो जिल्लामा स्याङ्जा, कास्की र नवलपरासीमा बढी क्षति पुर्याएको छ ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी क्षति भएको छ ।

लुम्बिनी प्रदेशमा ४२ हजार ४ सय २७ हेक्टर क्षेत्रफलमा उत्पादन भएका १ लाख ६१ हजार २ सय २३ मेट्रिक टन धानबाली क्षति पुगेको छ । जसमा सो प्रदेशमा अनुमानित रकमअनुसार धानबालीमा ४ अर्ब ५१ करोडको मूल्य बराबरको क्षति पुगेको छ । उक्त प्रदेशमा सबैभन्दा बढी बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा भएको जनाएको छ ।

कैलाली र कञ्चनपुरमा बढी प्रभावित भएको सुदुपश्चिम प्रदेशमा वर्षाका कारण १८ हजार हेक्टर क्षेत्रफलमा उत्पादन भएका ६८ हजार ४ सय मेट्रिक टन धानबाली नष्ट भएको जनाएको छ । सार्थै, अनुमानित रकमअनुसार १ अर्ब ९१ करोडको धानबाली नष्ट भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कर्णाली जिल्लामा ३० करोड रुपैयाँ बराबरको बेमौसमी वर्षाले क्षति पु¥याएको छ । सो प्रदेशमा २२ हजार ५ सय हेक्टर क्षेत्रफलमा असर पुग्दा १० हजार ५ सय ८४ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ । साथै, सो प्रदेशमा ४० हजार २ सय १९ मेट्रिक टन धानबालीमा क्षति पुगेको छ । सो जिल्लाको डोल्पा, जुम्ला, सल्यान र सुर्खेतमा बढी क्षति पुगेको मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु