आयोजना नभएको प्राधिकरणले एकैसाथ ठूला परियोजना शुरु गर्दै



आजको दिनमा नेपाल विद्युत् प्राधिकरणसँग कुनै पनि आयोजना छैन । आयोजना बिहीन सरकारी कम्पनीले केही ठूला आयोजना बनाउने सोच अगाडि नसारेको पनि होइन । तर लगानी गर्ने रकमको अभावमा प्राधिकरण आयोजना बिहीन बन्न पुग्यो ।

प्राधिकरण आफैमा समस्यामा परेको थियो । लगातार घाटा चुलिँदो अवस्थामा थियो । सोही कारण सामान्य रुपमा लगानी गर्ने रकमको समेत अभाव थियो । तर, पछिल्ला दिनमा परिस्थितमिा केही बदलाव आएपछि प्राधिकरण आफैले केही ठूला आयोजना अगाडि बढाउने मार्गचित्र सार्वजनिक गरेको छ ।

प्राधिकरणले ८ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त र १ हजार ६१ मेगावाटको माथिल्लो अरुण तथा २ सय १० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरु एकसाथ अगाडि बढाउन लागेको छ । तीन वटै आयोजनाहरु अहिले बिस्तृत अध्ययनको अन्तिम चरणमामा रहेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

ती जलविद्युत आयोजनाको बिस्तृत इन्जिनियरिङलाई अन्तिम रुप दिने, निर्माणका लागि ठेकेदार छनोटका टेण्डर कागजात तयार गर्ने, पहुँच सडक, जग्गा अधिग्रहण, वित्तीय व्यवस्थापन लागि स्वदेशी वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगका छलफललगायतलाई समानान्तर रुपमा अगाडि बढाइएको छ ।

जलाशययुक्त र अर्धजलाशययुक्त आयोजनलाई उच्च प्राथमिकतामा लागि निर्माण अगाडि बढाउनु  लागिएको  घिसिङले बताए । ‘एक वर्षभित्रमा निर्माण पूर्वका सम्पूर्ण कामहरु सकेर निर्माणमा लैजाने प्राधिकरणको तयारी छ ।

ती आयोजनाका लागि अर्थ मन्त्रालयमार्फत एसियाली विकास बैक ९एडीबी०को नेतृत्वमा दूधकोसीमा लगानीका लागि  युरोपेली लगानी बैक, एसियाली पूर्वाधार लगानी बैक र कोरियाली एक्जिम बैकसँग छलफल भइरहेको छ ।

दूधकोसीको अनुमानित आधार लागत १ अर्ब ५३ करोड डलर (करिब १ खर्ब ७८ अर्ब रुपैयाँ) र निर्माण अवधिको ब्याज, करसहित सम्पूर्ण लागत करिब २ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । अध्ययन भएका जलाशययुक्त आयोजनामध्ये लागत र ऊर्जा उत्पादनका आधारमा दूधकोसी तुलनात्मक रुपमा सस्तो र आकर्षक मानिएको छ ।

खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा पर्ने आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड युनिट ऊर्जामध्ये हिउँद र वर्खामा क्रमशः १ अर्ब ३६ करोड र २ अर्ब ८ करोड युनिट ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाले पहुँच सडक निर्माण र बाँध निर्माणस्थलभन्दा माथि डुबान क्षेत्रमा पर्ने खोटाङतर्फको करिब १३ हजार रोपनी जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ ।

ओखलढुंगा र सोलुखुम्बुतर्फको जग्गा अधिग्रहणको प्रक्रिया छिट्टै सुरु हुने छ । आयोजनाको निर्माणका लागि ७ वर्ष लाग्ने अनुमान गरिएको छ । उत्पादित बिजुली प्रस्तावित सुनकोसी-ढल्केबर ४ सय केभी प्रसारण लाइनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेन्जर’ आयोजनाको रुपमा अगाडि बढाउन लागिएको छ ।  आयोजनाको जडित क्षमता १०६१ मेगावाट रहेको छ ।

प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत कार्यक्रममा समावेश भएको आयोजना हो ।

बझाङमा पर्ने चैनपुर सेतीलाई सुदूरपश्चिम प्रदेशको गेमचेञ्जर आयोजनाको रुपमा अगाडि बढाइने छ । जनताको जलविद्युत कार्यक्रममा अन्तर्गत निर्माण गरिने आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहने छ ।

आयोजनालाई इन्जिनियरिङ, खरिद र निर्माण  मोडलमा निर्माणका लागि टेण्डर कागजपत्र तयार, पहुँच सडक निर्माण, जग्गा अधिग्रहणलगायतका काम इरहेको छ । हिउँदमा ६ घण्टा पूर्ण क्षमतामा चल्न सक्ने आयोजनाबाट वार्षिक  १ अर्ब १६ करोड युनिट ऊर्जा उत्पादन हुनेछ ।


क्लिकमान्डु