न्यूनतम साझा कार्यक्रमप्रति ओलीले टिप्पणीः ‘सडकमा बाँडेको कागजको चिर्कटो’
काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा सत्तापक्ष गठबन्धनको चर्को आलोचना गरेका छन् ।
गठबन्धनले आइतबार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमलाई ‘सडकमा बाँडिएको काम नलाग्ने कागजको चिर्कटो’को संज्ञा दिएका छन् ।
‘अस्तिका दिन सडकमा एउटा कागज वितरण गरेको देखे मैले,’ ओलीले भने, ‘त्यो चिर्कटोमा राष्ट्रिय सहमति जस्तो कुरा पनि लेखिएको रहेछ ।
ओली यत्तिमै रोकिएनन् । उनले भने, ‘प्रायः लगानीमैत्री वातावरणको कुरा चल्छ । त्यो अस्तिका दिन बेलुका बाँडेको… सडकतिर कतै बाँडेको कागज… त्यसमा लगानीमैत्री वातावरण बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने भनिएको छ,’ उनले भने, ‘यो स्वदेशी लगानी मैत्री वातावरण भनेको हो कि विदेशी लगानीमैत्री वातावरण भनेको हो ?
आफ्नो नेतृत्वको सरकारले लगानीमैत्री वातावरण निर्माण गरेको तर अहिलेको सरकारले त्यसलाई कामय राख्नेमा शंका रहेको ओलीको भनाइ छ ।
‘स्वदेशी लगानीमैत्री वातावरण भनेको हो भने देशमा शान्ति सुव्यवस्था हुनुपर्छ । हिंसा अन्त्य गर्नुपर्छ । अतिवाद रोक्नुपर्छ । अघिल्लो सरकारले विखण्डनवाद र हिंसालाई अन्त्य गरेर लगानीमैत्री वातावरण निर्माण गरेको छ,‘ ओलीले भने, ‘त्यसलाई अहिलेको सरकारले कायम राखोस् । त्यो जोगाउन सफलता पाओस् । म शुभकामना दिन चाहन्छु ।’