निजी क्षेत्रका लागि सरकारले अर्को राहत तथा पुनरुत्थानको प्याकेज ल्याउँछः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका लागि सरकारले छुट्टै राहत र पुनस्र्थापनाको प्याकेज ल्याउने बताएका छन् ।

नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले राहत र पुनरुत्थान प्याकेज तयार पार्नका लागि सरकारले गृहकार्य शुरु गरिसकेको बताए ।

‘नयाँ राहत प्याकेज ल्याउन विषयमा मन्त्रिपरिषदमा छलफल भइसकेको छ । प्रधानमन्त्रीले पनि राहत प्याकेज ल्याउनका लागि तयारी गर्नुहोस भन्नुभएको छ । हामी त्यसमा जुटेका छौं,’ शर्माले भने ।

कोभिड १९ महामारी रोकथाम, नियन्त्रण, उपचार र भ्याक्सिन कार्यक्रमलाई सरकारले पहिलो प्राथमिकतामा राखेको र सँगसँगै अर्थतन्त्रको पुनस्र्थापनालाई पनि सरकारले गम्भीरताका साथ लिएको शर्माले बताए ।

‘सरकारको पहिलो प्राथमिकता भ्याक्सिन हो । कोभिड विरुद्धको भ्याक्सिन सँगसँगै अर्थतन्त्रलाई उकास्नका लागि पनि राहतको भ्याक्सिन आवस्यक छ,’ अर्थमन्त्री शर्माले भने, जर्जर अर्थतन्त्रलाई सुधार गर्नका लागि पुनर्संरचनाका कामहरु पनि भइरहेका छन् ।’

उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नका लागि नयाँ संकल्पको आवश्यकता रहेको र त्यसमा निजी क्षेत्रको ठूलो भूमिका रहने पनि अर्थमन्त्री शर्माले बताए ।

‘हरेक चुनौतीभित्र महान सम्भावना हुन्छ । अहिले हामी आर्थिक चुनौतीको सामना गरिरहेका छौं । महामारीले हामीलाई आत्मनिर्भर हुन सिकाएको छ । निजी क्षेत्र पनि सरकारको सहयोद्धा हो । हामी सहकार्य गरेर अघि बढ्नेछौं,’ उनले भने ।

परिसंघले शुरु गरेको मेक इन नेपाल–स्वदेशी अभियानले निर्यात प्रवद्र्धन, भुक्तानी सन्तुलन लगायतका क्षेत्रमा सहयोग पुर्याउने र व्यापार घाटा कम हुने विश्वास आफूले लिएको शर्माले बताए ।


क्लिकमान्डु