‘सामाजिक सुरक्षा कोषमा वित्तीय क्षेत्रका कर्मचारी असुरक्षित’
काठमाडौं । समाजिक सुरक्षा कोषमा आवद्धता नहुने भन्दै नेपाल एसबिआइ बैंकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । बैंकका कर्मचारीहरुले कोषमा आवद्धता हुन नसक्नुका बुदाँहरु कालो ब्यानरमा देखाउँदै सोको विरोध गरेका हुन् ।
सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा गरिएका प्रवधानहरुले सम्पुर्ण कर्मचारीले नै अशुरक्षित महसुस गरी सोको विरोधमा आन्दोलन गरिएको नेपाल एसबिआइ कर्मचारी संघका पुर्ब अध्यक्ष लक्ष्मण कार्कीले बताए ।
‘सामाजिक सुरक्षा कोष भनेर सरकारले ल्याएको छ, तर सरकारी सुरक्षा कोषबाट सबैभन्दा बढी हामी अशुरक्षित भएका छौ,त्यही भएर हामीले त्यसको विरोध गरेका हौं,’ बैंक कर्मचारी संघका पुर्ब अध्यक्ष कार्कीले भने, ‘सामाजिक सुरक्षा कोषको ऐन तथा कार्यविधिमा भएका बुँदाहरु आफैमा बाझिएका छन्, यसले गर्दा आजको दिनमा हामीले कोषमा जम्मा गरेको रकम भोलीको दिनमा सुरक्षित नै हुन्छ भन्नेमा हामी विस्वस्त छैनौं ।’
सामाजिक सुरक्षा कोषले राज्यले तोकेको न्यूनतम ज्याला तथा तलब नपाएका क्षेत्रलाई समेटेर ल्याउन पहिलो प्राथमिकतमा बनाउनु पर्ने उनको भनाई छ ।
‘राज्यले तोकेको करको दरसम्म आम्दानी नहुनेलाई यसमा समेट्नु पहिलो आवश्यकता हो, तर हामी राज्यले तोकेको भन्दा दोब्बर कर तिर्ने क्षेत्रका कर्मचारीलाई जबरजस्ती गरिनु उचित होइन ।’– उनले थपे ।
सरकारले ल्याएको सामाजिक सुरक्षा योजना विरुद्ध आफुहरुले विभिन्न माग अघि सारेको र उक्त माग सम्बोधन नभएसम्म आफुहरुको अन्दोलन तथा विरोधका कार्यक्रम निरन्तर रहिरहने विरोधमा सहभागी कर्मचारीहरुको भनाइ छ ।
कोषले वित्तीय क्षेत्रका कर्मचारीहरु पनि अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आउन भनिएपछि वित्तीय क्षेत्रका सम्पुर्ण कर्मचारीहरु गत मंगलबार देखि नै आन्दोलित भएका छन् ।