नेपालसहित ५० मुलुकको खोपका लागि विश्व बैंकले ४ अर्ब डलर खर्चिने



काठमाडौं । विश्व बैंकले नेपालसहित ५० मुलुकका लागि ४ अर्ब अमेरिकी डलर बराबर खर्च गर्ने भएको छ । विकासशील र विकासोन्मुख मुलुकहरुले यो सुविधा पाउनेछन् ।

विश्व बैंकले बुधबार यो कार्यक्रम घोषणा गरेको हो । यसरी सहयोग पाउन लागेका आधाभन्दा बढी अफ्रिकी मुलुक छन् । इन्टरनेसनल डेभलपमेन्ट एसोशियसन (आइडीए) मा आवद्ध र गरिब मुलुकहरुलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको विश्व बैंकले जनाएको छ ।

यसरी प्राप्त हुने रकम अनुदान हो भने अनुदानमा आएको रकम कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रण र भ्याक्सिन कार्यक्रमका लागि खर्च गर्नुपर्नेछ ।

कोभिड १९ महामारीपछि विश्व बैंकले स्वास्थ्य क्षेत्रमा मात्र १ खर्ब ५० अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको जनाएको छ । महामारीले सामाजिक र आर्थिक अवस्थामा पारेको असरलाई मध्येनजर गरी विभिन्न कार्यक्रममार्फत् यो रकम खर्च गरेको हो ।

विश्व बैंकबाट पाएको रकमलाई अफ्रिकन मुलुकहरुले अफ्रिकन भ्याक्सिन एक्विजिसन टास्क टिम (एभिएटीटी) वा कोभ्याक्स कार्यक्रममार्फत खर्चन सक्नेछन् । भ्याक्सिन खरिद, ढुवानी, भण्डारण, वितरणसँगसँगै जनसचेतनाका कार्यक्रमका पनि यो रकम खर्चन सकिने विश्व बैंकले जनाएको छ ।

कोभिड भ्याक्सिनका लागि घोषणा भएको यो रकम पाउने दक्षिण एसियाली मुलुकहरुमा नेपालसहित अफगानस्थान, बंगलादेश र पाकिस्तान रहेका छन् ।


क्लिकमान्डु