जिटकोमार्फत् श्रमिक जापान पठाउन सूचीकृत संस्थाले जुलाईसम्ममा नवीकरण गर्नुपर्ने
काठमाडौं । वैदेशिक रोजगार विभागले जापान ईन्टरनेशनल ट्रनिङ कोअपरेशन अर्गनाइजेशन (जिटको) अन्तर्गत नेपाली श्रमिक जापान पठाउन सूचिकृत संस्थाहरूले जुलाई महिनासम्ममा संस्था नवीकरण गर्न आह्वान गरेको छ ।
विभागले बिहीबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन र निर्देशिकाअनुसार जुलाई ३१ गतेभित्र नवीकरण दस्तुर र कागजातहरू संलग्न गरी नवीकरण गर्न आह्वान गरेको हो ।
विभागले नवीकरणका लागि संस्थाको निवेदन, दस्तुर रकम १० हजार बुझाएको रसिद, अघिल्लो वर्षको नवीकरण खुलेको सूचिकरणको प्रतिलिपी समावेश गर्नुपर्नेछ ।
साथै जिटकोमार्फत् आर्थिक वर्ष २०७६/७७ मा पठाएका कामदारहरूको संख्या र यसअघिका वर्षहरूदेखि चालु आवसम्मका लागि इजाजत नवीकरण भएको प्रमाणपत्र समावेश गर्नुपर्ने विभागले उल्लेख गरेको छ ।
साथै, बैंक ग्यारेन्टि र नगद धरौटी, गत वर्षको चुक्ता प्रमाणपत्र र कम्पनी अध्यावधिक भएको वा सो को प्रक्रिया शुरु गरिएको प्रमाणितहुने कागजातको प्रतिलिपि समावेश गर्न विभागले जनाएको छ ।