
सिराहा । सप्तरीको कञ्चनपुरदेखि सिराहा–धनुषा जोड्ने कमला नदीसम्मको ८६.८२ किलोमिटर कञ्चनपुर–कमला सडकको पूर्वी र पश्चिम खण्ड निर्माणको म्याद तेस्रोपटक थप हुँदा करिब ६९ प्रतिशत प्रगति भएको छ ।
सन् २०२० जुनमा गरेको ठेक्का सम्झौताअनुसार चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुपले कञ्चनपुरदेखि कुसहासम्म ३९.४२ किलोमिटर पूर्वी खण्ड र कुसहादेखि कमला नदीसम्म ४७.४ किलोमिटर पश्चिम खण्ड गरी ८६.८२ किलोमिटर सडक चार र ६ लेनसहित, पुल, कल्भर्ट, ओभरपास र अन्डरपास, अकासेपुल निर्माण २८ अक्टोबर २०२३ मा सम्पन्न गर्नुपर्ने थियो ।
लहानस्थित पूर्वी खण्डको कार्यालयका सूचना अधिकारी इन्जिनियर राजीव झाका अनुसार सप्तरीको कञ्चनपुर, महुली, सीतापुर, वीरेन्द्रबजार, रुपनी, कल्याणपुर र कठौनामा खण्ड–खण्ड गरी ६.०८ किलोमिटर ६ लेनको सडक बनाउनुपर्नेमा ठाउँ–ठाउँमा अवरोध छ ।
‘आगामी जुनसम्म निर्माण सम्पन्न गर्ने गरी तेस्रोपटक ६ महिना म्याद थप भएको छ,’ उनले भने, ‘तर, प्राविधिक रूपले अनावश्यक ठाउँमा पनि नालालगायतका संरचना बनाउन स्थानीयले दबाब दिन थालेपछि काम नियमित हुन सकेको छैन ।’ उनका अनुसार कठौनामा स्थानीय बासिन्दाले जबर्जस्ती थप संरचना निर्माण गर्न दबाब दिँदै दुव्र्यवहार गरेका छन् ।
‘स्थानीयको अवरोध र दबाब कायमै रह्यो भने तेस्रोपल्ट म्याद थप हुँदा पनि सम्पन्न गर्न गाह्रो छ,’ उनले भने, ‘उक्त खण्डमा विद्युत्को पोल सार्न, नाला निर्माणलगायतका काममा स्थानीयले सहयोग गरेका छैनन् ।’
उनका अनुसार करिब ३३ किलोमिटर चार लेन सडकमध्ये २४ किलोमिटर खण्ड, २९ वटा ठुला–साना पुलको सुपर स्ट्रक्चरसम्मको निर्माण सम्पन्न भएको छ । ‘पूर्वी खण्डमा एक सय १३ वटा कल्भर्ट निर्माणसहित २० वटा पुलमा सवारीसाधन गुड्न थालेका छन्,’ उनले भने, ‘गत डिसेम्बरसम्म पूर्वी खण्डको भौतिक प्रगति करिब ६७ प्रतिशत हो ।’
यस्तै मिर्चैयास्थित पश्चिम खण्ड कार्यालयले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनअनुसार गत असोज मसान्तसम्म चार लेनको कालोपत्रे ३०.८५ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । मिर्चैया, लहानमा ६ लेन सडकसहित ओभरपास र अन्डरपासका लागि आवश्यक पूर्वाधारको काम जारी रहेको भए पनि गोलबजारमा डिजाइन स्वीकृति ढिलो हुँदा माटो परीक्षणबाहेक अन्य काम हुन नसकेको सूचना अधिकारी अनुपम साहले जानकारी दिए ।
उनका अनुसार लहान बसपार्क, प्रादेशिक अस्पतालअगाडि अकासेपुलका लागि फाउन्डेसनको काम सम्पन्न भएको छ । लहान र मिर्चैयामा ओभरपासका लागि ५० वटा पाइल फाउन्डेसन गरिएको, तर लहानमा माटो केही कमजोर देखिएकाले २० वटा ग्राभेल फाउन्डेसनको काम गरिएको उनले बताए ।
त्यसबाहेक पश्चिम खण्डमा एक सय १२ कल्भर्ट निर्माण भइसकेको जानकारी दिँदै उनले साना–ठूला गरी २५ पुल निर्माण सम्पन्न गरी १२ वटामा सवारीसाधन चलाउन खुला गरिएको छ । सडकमा रेलिङ, एक्सपान्सन ज्वाइन्ट, पुलको रेलिङ तथा रंगरोगन बाँकी रहेकाले थप भएको म्यादभित्र सम्पन्न गर्ने गरी काम भइरहेको योजना कार्यालयले जनाएको छ ।
सन् २०२० जुनमा ठेक्का सम्झौतापछि २९ अक्टोबर २०२० मा निर्माण थालनी गरी २८ अक्टोबर २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य छ । तर, साइट क्लिरियरेन्स, कोरोना महामारीजस्ता कारणले करिब एक वर्षपछि ढिलो काम थालेको चाइना रेलवे नं २ इन्जिनियरिङ ग्रुपका लागि पहिलोपटक २३ डिसेम्बर २०२४ सम्म १४ महिना र दोस्रोपल्ट २०२५ डिसेम्बरसम्म १२ महिना म्याद थप भएको थियो ।
ग्रुपले कुसहा–कञ्चनपुर ३९.४२ किलोमिटर खण्ड सात अर्ब २७ करोड ७६ हजार ३४ रुपैयाँ ३४ पैसा र कुसहादेखि कमलासम्म ४७.४ किलोमिटर पश्चिम खण्ड भरिएसनपछि आठ अर्ब ८० करोड ७० लाख १८ हजार दुई सय ७७ रुपैयाँ १० पैसामा ठेक्का सम्झौता गरेको थियो ।
उक्त सडक निर्माणका लागि एसियाली विकास बैंकको ७१.२२ प्रतिशत ऋण र नेपाल सरकारको २८.७८ प्रतिशत लगानी रहेको छ ।
पटक–पटक म्याद थप हुँदा पनि निर्माण सम्पन्न नहुँदा मुख्य बजार क्षेत्रका बासिन्दाले धुलो, धुँवाको सास्ती खेप्दै आएका छन् । सप्तरीको कुसहादेखि सिराहाको कमला नदीसम्म पर्ने अधिकांश ठाउँमा पुल, कल्भर्ट, सडक निर्माण सकिएको भए पनि जिल्लाको मुख्य बजार क्षेत्र लहान खण्डको ओभरपास निर्माण सुस्त हुँदा दिनहुँ धुलो–धुँवासँगै दुवैतर्फ साँघुरो डाइभर्सनमा सवारीसाधन गुडाउँदा दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ ।
पछिल्लो असारमा सहिद स्मारक भत्काएपछि अस्तव्यस्त बनेको लहानको मुख्य चोकको दायाँ–बायाँबाट एकतर्फी सवारीसाधन चलाउन डाइभर्सन बनाइएको भए पनि दुर्घटनाको जोखिमसँगै धुलो उड्ने र पानीमा हिलाम्मे भएको भन्दै स्थानीयले गत असारमा चक्काजामसमेत गरेका थिए ।
लहान खण्डमा निर्माण भइरहेको ओभरपास, अस्पताल चोक र बसपार्कनजिक अकासेपुलको फाउन्डेसन सकिए पनि अन्य निर्माण ढिलाइ हुँदा मुख्य चोक क्षेत्र अस्तव्यस्त बनेको स्थानीय बस व्यवसायी डम्बर घिमिरेले गुनासो गरे ।








प्रतिक्रिया