सम्पूर्ण अपडेट

विश्वकप खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ


काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा सुनिल शर्माले नेपाली टोलीको बिदाइ गरेका हुन ।

नेता शर्माले वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपियाँ पनि हस्तान्तरण गरेका थिए। आगामी विश्वकपमा सुपर आठमा पुगे २० लाख रुपियाँ दिने घोषणा समेत शर्माले गरेका छन ।

डा शर्माले नेपाली राष्ट्रिय महिला र पुरुष टोलीका खेलाडी र परिवारलाई निःशुल्क उपचार गराउँदै आएको उल्लेख गर्दै यो सम्झौता सकिए पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल सरकार समक्ष खेलाडी जीवनबाट अवकाशपछि उनीहरूलाई पेन्सन दिन माग राखे ।

चतुरबहादुर चन्दले टेस्ट राष्ट्रसँग खेल्न नपाए पनि लगातार भइरहेको व्यस्तताले नेपाली टोलीको तयारी राम्रो भएको बताए । उनले नेपाली टोली सन्तुलित रहेको उल्लेख गर्दै नेपाली टोली सुपर आठमा पुग्ने आशा व्यक्त गरेका छन ।

क्यानका सचिव तथा नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीबाट देशले धेरै आशा राखेको र विश्व क्रिकेटले पनि नियाली रहेको बताए ।

नेपाली क्रिकेट खेलाडी सबैका आदर्श पात्र रहेकाले विश्वकपका खेलले मात्र नभई त्यहाँ खेलाडीले गर्ने सबै गतिविधिले प्रभाव पार्ने भएकाले अनुशासित हुन पारसले सुझाव दिए ।

वेस्ट इन्डिजसँगको जितपछि नेपाली टोलीमा उत्साह बढेकाले पनि टेस्ट राष्ट्रसँग शृङ्खला आयोजना गर्न लागिएको उनको भनाइ छ । नतिजा आफू अनुकुल नभए पनि यो विश्वकप एउटा ठुलो अवसर रहेको उनले बताए ।

पारसकै कप्तानीमा नेपालले पहिलोपल्ट सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । दोस्रो पल्ट विश्वकप खेल्न १० वर्ष लगाएको नेपालले तेस्रो विश्वकप भने लगातार खेल्दैछ ।

यस विश्वकपमा नेपाल समूह ‘सी’ मा छ । यस समूहमा इङ्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र बङ्गलादेश छन् ।