राष्ट्रिय खाद्य बैंकको प्रमोटर सेयर असार मसान्तदेखि सेयर बिक्री बन्द गरिने, २ वर्षपछी आइपिओ



काठमाडौं । राष्ट्रिय खाद्य बैकले प्रमोटर सेयरमा मागभन्दा बढी प्रतिवद्धता आएपछि शेयर बिक्रि सेवा असार मसान्तबाट बन्द गरिने निर्णय गरिएको जनाएको छ ।

२ अर्ब लगानी गर्ने गरी स्थापना भएको बैंकले लगभग आवश्यक पूँजीको निश्चितता भएकाले सो निर्णय गरेको हो । जेठका बाँकी दिन र असार महिनाभरी मात्रै बैकको प्रमोटर शेयर सदस्य बन्न सकिने बैकका अध्यक्ष शंकर उप्रेतीले बताए ।

बैकका अध्यक्ष उप्रेतिले भने, ‘असार मसान्तसम्म इच्छुक हुनेहरु बैकसमक्ष आउन अनुरोध छ । सो पश्चात सेयर खरिद गर्न नपाउनु हुनेहरुले २ बर्षपछी आइपिओ भर्न पाउने छन् । हामी त्यही ढंगले काम गर्दैछौ,’ उनले भने ।

‘पोषिलो आहारका लागि दीगो कृषि’ भन्ने नाराका साथ स्थापित बैंकले पोखरा, बाँके–बर्दिया र झापा–मोरङमा बृहत् कृषि परियोजना शुरु गरिसकेको छ । स्थानीय कृषकहरुको सहभागितामा ती प्रोजेक्टहरु अघि बढाइएको अध्यक्ष उप्रेतीले बताए । पहिलो चरणमा ती स्थानमा स्थानीय जातका उन्नत धान रोप्ने काम भइरहेको उप्रेतीले बताए ।

झापा-मोरङमा करिव ५०० विघा र बाँके-बर्दिया-कास्की जिल्लामा झण्डै ४०० विघा जग्गा गरी झण्डै ९ सय विघा जग्गामा खाद्य बैंकले स्थानीयसहितको सहभागितामा धान रोप्ने काम अघि बढाएको र अन्य जिल्लाहरुमा पनि जग्गा लिजमा लिने कामहरु भइरहेको अध्यक्ष उप्रेतीले जनाए ।

कोभिड १९ को कारण बैंकको गतिविधिमा ब्यापक संकुचन आएको बताउँदै अध्यक्ष उप्रेतिले भने, ‘कोरोनाको दोस्रो लहर नआएको भए हामीले करिव २३ जिल्लामा खेतीपाती गर्ने तयारी थियो । कोरोनाले लक्ष्यमा बे्रक गर्यो ।’

अध्यक्ष उप्रेतिका अनुसार यी परियोजनाहरु पाइलट प्रोजेक्टका रुपमा अघि बढाइनेछ । उनी भन्छन्- ‘हामी आफैले उत्पादनको काम अघि मात्रै बढाउँदैनौ, किसानलाई पनि आधुनिक एवं व्यवस्थीत खेती प्रणालीमा समाहित गर्दै लैजान्छौ । साथै हाम्रै उत्पादन प्रणाली, मल–बिउ प्रयोग गरेर गुणस्तरीय उत्पादन गर्ने कृषिकहरुका सबै उत्पादनहरु यसै बर्षबाट हामी खरिद पनि गछौ । ब्राडिङ गरेर यसै बर्षबाट त्यस्ता खाद्य वस्तु बजारमा ल्याँउछौ ।’

राष्टिय खाद्य बैङ्कमा हालसम्म ५ सय ९० प्रमोटर सेयर सदस्य छन् । आवश्यक मापदण्ड पूरा गरी बैंक छिट्टै सर्वसाधारणका लागि आइपीओमा जाने तयारीमा छ ।

कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैङ्क स्थापना भएकोले बैंकमार्फत् धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्दै किसानसँग सहकार्य गर्दै उत्पादन बढाउने अध्यक्ष उप्रेतीले बताए ।


क्लिकमान्डु