प्रमलाई कांग्रेसको १५ बुँदे सुझाव, स्वास्थ्य सामग्री खरिदमा भएको भष्ट्राचार छानबिन गर्न माग
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चाल्नुपर्ने कदमबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
खोपको सुनिश्चितता हुनुपर्ने, स्वास्थ्य सामग्री आपूर्तिमा भएको अनियमितता तथा भष्ट्राचारको छानबिन हुनुपर्ने, अक्सिजनलगायत स्वास्थ सामग्रीको पारदर्शी वितरण हुनुपर्ने, महामारीका कारण प्रभावित अर्थतन्त्रलाई उकास्न आर्थिक राहत प्याकेज घोषणा गर्नुपर्नेलगायत विषय समेटेर बिहीबार देउवाले ओलीलाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।
‘तेस्रो चरणको संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल खोपको सुनिश्चितता गरियोस । त्यसका लागि कुटनीतिक पहल तीव्र पारियोस । खोप आपूर्ति गर्ने व्यवस्था बिचौलिया रहित र पारदर्शी ढंगले गरियोस,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।
स्वास्थ्य सामग्री आपूर्तिमा देखिएको अनियमितता, भष्ट्राचार तथा भ्याक्सिन आपूर्तिमा देखिएको कमिसनतन्त्रको सम्बन्धित निकायबाट स्वतन्त्र रुपमा छानबिन गर्ने वातावरण सुनिश्चित गर्न कांग्रेसको माग छ ।
त्यस्तै दूरदराजसम्म स्वास्थ्य सेवा पुर्याउने तथा महामारी संक्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि अधिकतम प्रयास गर्न पनि सरकारसँग कांग्रेसले माग गरेको छ ।
महामारीका कारण अर्थतन्त्र धराशायी हुने अवस्थामा पुगेको र निम्न आय भएका तथा रोजगारी गुमाएका व्यक्तिहरुलाई जिविकोपार्जनमा समस्या भएकाले तत्काल आर्थिक राहत प्याकेज घोषणा गर्न पनि प्रतिपक्षि दलले सरकारसँग माग गरेको छ ।