निषेधाज्ञा सकिएको एक महिनासम्म बैंकले ऋण असूली र लिलामीको सूचना निकाल्न नपाउने



काठमाडौं । कोरोना महामारी रोक्न सरकारले लगाएको निषेधाज्ञाका कारण प्रभावित ऋणीहरुलाई राष्ट्र बैंकले थप सहुलियतको घोषणा गरेको छ ।

राष्ट्र बैंकको यो नयाँ व्यवस्थासँगै अब कुनै पनि बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा सकिएको एक महिनासम्म निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने भएका छन् ।

संकटका बेला पनि बैंक वित्तीय संस्थाको ध्यान कर्जा असुली र सम्पत्ति लिलामीमा

त्यसैगरी राष्ट्र बैंकले कोभिड-१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था मिलाउने जनाएको छ ।

कोभिड-१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दति निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले गर्न सक्ने व्यवस्था मिलाइने र निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै यस्ता थप व्यवस्थाहरु गरेको हो ।

निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई पेनल्टी लिएको, असूली र लिलामीका सूचना निकाल्दै आएका थिए । अब भने त्यो रोकिएको छ ।


पुष्प दुलाल