रुपन्देहीको यी दुई स्थानमा साढे ६ अर्ब लगानीमा हाउजिङ, यस्ता छन् विशेषता



काठमाडौं । काठमाडौंपछि व्यवस्थित आवासिय शहरको विस्तार हुँदै गएको रुपन्देहीको भैरहवा र बुटवलमा तीब्र रुपमा व्यवस्थित आवासको निर्माण शुरु भइरहेको छ ।

पछिल्लो समय भैरहवा र बुटवल व्यवसायिक तथा उद्योगको हिसाबले पनि आधुनिकरुपमा विकसित हुँदै गएपश्चात् एकीकृत बस्ती निर्माण शुरु गरेको व्यवसायीहरू बताउँछन् ।

उद्योग, पर्यटन, शिक्षा, व्यापार तथा स्वस्थ्यमा पनि राम्रो व्यवस्था रहेको उक्त स्थानमा विभिन्न कम्पनीद्धारा व्यवस्थित तथा हाउजिङ परियोजना शुरु गरेको व्यवसायीहरूको भनाई छ । जसमा हालसम्म दुई वटा एकीकृत वस्ती र धेरै पाँच तारे होटलहरूको निर्माण भइरहेको व्यवसायीहरूको भनाइ छ । सोही अनुसार व्यवसायीहरूले विभिन्न परियोजनाहरू अगाडि सारेको छ ।

भैरहवाको बोधी होम्स हाउजिङ

रुपन्देही जिल्लाको भैरहवामा ४ अर्ब लगानीमा ‘बोधी होम्स्’ हाउजिङ परियोजना निर्माण शुरू भइरहेको छ । हाउजिङ, पाँच तारे होटललगायत बैंक वित्तय क्षेत्रमा अनुभवी भएका टोलीले अध्ययनसहित भैरहवामा हाउजिङ परियोजनाको निर्माण शुरू गरेको हो ।

बोधी बिल्डर्सले निर्माण शुरु गरेको बोधी होम्स दुई चरणमा निर्माण हुनेछ । पहिलो चरणमा १०५ र दोस्रो चरणमा १९५ वटा घर निर्माण हुने बोधी होम्सले जनाएको छ ।

पछिल्लो समय भैरहवा परम्परागतबाट आधुनिकतर्फ परिणत हुँदै गएकाले सामूहिक लगानीमा ३०० वटा घर निर्माण हुने भएको हो ।

भैरहवामा पहिलो चरणमा निर्माणको काम १०५ वटा घर निर्माण गत माघ ९ गतेदेखि शुरु भइसकेको छन् । पहिलो चरणको परियोजना २ वर्षमा सक्नेछन् । साथै, पहिलो चरणको निर्माण परियोजना सम्पन्न भएपपछि मात्रै दोस्रो परियोजना शुरु हुनेछ ।

कुल १४ बिघा (१८६ रोपनी ६ आना १.८८५ दाम) मा निर्माण सम्पन्न हुने यस परियोजना भैरहवाकै ठूलो आवासीय परियोजना हो । साथै, हाउजिङ परियोजनामा निर्माण हुने घर १३ धुर (६ आना ३ पैसा २.७६४ दाम) देखि १८ धुर (९ आना २ पैसा १.३६६ दाम) सम्मका हुनेछन् । जसमा ३०० घरहरु साढे २ तलासहित ४ वटा विभिन्न डिजाइनमा निर्माण गरिनेछ ।

जसमा घरहरूमा आधुनिक सुविधासहित परियोजनाभित्र स्वीमिङ पुल, २४ फिटको चौडा बाटो, हेल्थ क्लव, कार्यक्रम गर्नका लागि कम्यूनिटी हल, पर्याप्त मात्रामा बगैंचा हुनेछ ।

यसका साथै, पर्याप्त मात्रामा पार्किङ स्पेस, अत्यन्त चुस्त दुरुस्त खालको सुरक्षा, सपिङ सेन्टरलगायत आधुनिक हाउजिङ परियोजनामा हुने सम्पूर्ण सुविधा हुनेछ ।

तिलोत्तमा एकिकृत आवास

रुपन्देहीको तिलोत्तमामा २ अर्ब ५० करोड रुपैयाँ लगानीमा एकीकृत आवास विकास परियोजना ‘तिलोत्तमा होम्स’को निर्माण शुरु भइरहेको छ । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले शुरु गरेको उक्त परियोजनामा सुविधासम्पन्न १२३ वटा आवास बनाउने गरी परियोजना शुरु गरेको हो ।

विगतको दिनमा तिलोत्तमा, भैरहवा, बुटवलमा जग्गा कारोबार गर्दै आएको उनले पछिल्लो समय आधुनिक शहरमा विकास हुँदै गएपश्चात एकीकृत आवासको आवश्यकता देखिएकाले एकीकृत आवासको परियोजना शुरु गरेको कम्पनीको भनाइ छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडकखण्डको भलबारी चोकदेखि १४ सय मिटर पूर्वतर्फ ७ बिघा क्षेत्रफलमा १२३ वटा घर बनाउने भएको हो ।

उक्त निर्माण भइरहेको आवास ‘ए’ र ‘बी’ समूह गरी दुई थरीको घर निर्माण हुने भएको छ । यी दुुई प्रकारका घर साढे दुई तलाको बन्ने भएको छ । तर, ‘ए’ र ‘बी’ समूहमा बनेको आवासको मूल्य छुट्टाछुट्टै तोकिएको छ ।

निर्माण भइरहेको दुबै प्रकारको घर साढे दुई तलाको बन्नेछ । तर, क्षेत्रफल भने फरक भएकाले दुई वटा समूहमा विभाजन गरेको गरिएको कम्पनीले जनाएको छ ।

उक्त निर्माण भइरहेको ‘ए’ समूहमा ३९ वटा घर बन्नेछ भने ‘बी’ समूहमा ८४ वटा घर बन्नेछन् । जसमा ‘ए’ समूहको घर १४ धुर जग्गामा २९ सय स्क्वायर फिटको क्षेत्रफलमा बन्नेछ । उक्त क्षेत्रफलमा बनेको घरको मूल्य २ करोड ५० लाख तोकेको छ ।

त्यस्तै, बी समूहमा बन्ने घर १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फिटका घर निर्माण गरिने जनाएको छ । बी समूहमा निर्माण भएको घरको मूल्य भने १ करोड ७५ लाख तोकेको उनको भनाइ छ । यी दुई समूहका घरको क्षेत्रफलमा फरक भए पनि सुविधा भने सबै एकै खालको हुनेछन् ।

तिलोत्तमामा बन्दै गरेको घरमा एकीकृत आवासमा हुने सम्पूर्ण सुविधा उपलब्ध हुने जनाएको छ । जसमा २६ फुट मूल बाटो तथा २४ फुटको सहायक बाटो रहने गरी नेपाल सरकारको सहरी विकास मापदण्ड अनुसार भूकम्पप्रतिरोधी घर निर्माण गरिनेछ ।

यस्तै, उक्त निर्माण भइरहेको एकीकृत आवासमा खेल मैदान, सपिङ कम्प्लेक्स, बाल उद्यान, जिमखाना, स्वीमिङ पूल, कभर्ड हल, बास्केटबल कोर्ट, हेल्थ क्लब, रेष्टुरेन्ट, सैलुन तथा मन्दिरसमेत सुविधा हुनेछ ।


पुष्प दुलाल