इन्भेष्टमेन्ट र हिमालयनको मर्जरः इन्भेष्टमेन्ट बैंकको बोर्डले पारित गरेको डीडीए रिपोर्टमा के छ ?



काठमाडौं । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया तीब्र गतिमा अघि बढेको छ । मर्जरको उदेश्यले दुबै बैंकले सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराएका थिए ।

इन्भेष्टमेन्ट बैंकको यसै साता बसेको सञ्चालक समितिले उक्त डीडीए रिपोर्ट पारित गरेको छ । यो सँगै मर्जर प्रक्रिया सम्झौताको नजिक पुगेको हो ।

‘हाम्रो बैंकको सञ्चालक समितिले गत सोमबार मात्रै डीडीए रिपोर्ट पारित गरेको छ,’ इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेले क्लिकमाण्डूसँग भने, ‘हिमालयन बैंकको सञ्चालक समितिले पारित गर्न बाँकी छ । उसले पनि पारित गरेपछि मात्रै थप प्रक्रिया अघि बढ्छ ।’

उता हिमालयन बैंकले भने यसैसाता सञ्चालक समितिको बैठक बोलाएर डीडीए रिपोर्ट पारित गर्ने योजना बनाए पनि केही सञ्चालकको समय नमिल्दा उक्त प्रक्रिया आगामी साताका लागि सरेको छ ।

‘आगामी साता सोमबार र मंगलबार हाम्रो बैंकको सञ्चालक समितिको बैठक छ, उक्त बैठकले डीडीए रिपोर्ट पारित गरेर मर्जर प्रक्रिया अघि बढाउने हाम्रो तयारी छ,’ हिमानलयन बैंकका सीइओ अशोक राणाले क्लिकमाण्डूसँग भने, ‘व्यवस्थापन तहबाट गर्नुपर्ने काम हामीले सकेका छौं, अब सञ्चालक समितिको हातमा छ ।’

‘मेगा मर्जर’को तयारीमा हिमालयन र इन्भेष्टमेन्ट बैंक, लिखित प्रतिवद्धता आदान-प्रदान, स्वाप १ः१

दुबै बैंकका सीइओ डीडीए रिपोर्टबारे केही खुलाउन चाहेनन् । तर, स्रोतका अनुसार डीडीए रिापोर्टमा सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ बराबर १ कायम गरिनुपर्ने उल्लेख छ । डीडीए रिपोर्टमा दुबै बैंकको स्ट्रेन्थ बराबर भएको देखिएको छ ।

त्यसैगरी, अध्यक्ष इन्भेष्टमेन्ट बैंकक अध्यक्ष पृथ्वीबादुर पाँडे र सीइओमा हिमालयन बैंकका अशोक राणा हुने समझदारी भएको छ ।

इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे डेपुटी सीइओ हुने समझदारी भएको स्रोतले जानकारी दियो ।

‘एमओयूपछि मात्रै सञ्चालक समितिको, व्यवस्थापन समितिको थप संरचना कस्तो हुने, कर्मचारी समायोजनक कसरी गर्ने, बैंकको नाम के राख्ने, सफ्टवेर कुन प्रयोग गर्ने ? लगायतका विषयमा उपसमिति बनाएर निर्णय गरिने छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार अबको दुई सताभित्रै हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जरमा जाने सैद्दान्तिक समझदारीमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । यी दुई बैंकबीचको मर्जरमा राष्ट्र बैंकले पनि विशेष चासो देखाउँदै प्रक्रिया चाँडै अघि बढाउन लगातार घच्घच्याउँदै आएको छ ।

यी दुई बैंक मर्ज भएपछि बन्ने बैंक हरेक हिसाबले देशकै ठूलो बैंक बन्नेछ । र, अन्य बैंकहरुलाई पनि मर्जरमा जान दबाब सिर्जना हुने विश्वास गरिएको छ ।


पुष्प दुलाल