बीमा लेख धितो राखेर कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई रोक



काठमाडौं । अबदेखि बीमा पोलेसी धितो राखेर बैंकबाट कर्जा लिन नपाइने भएको छ । बीमा समितिले कम्पनीहरुले बिक्री गरेको बीमा लेख धितो राखी बिमितलाई कर्जा लिन नमिल्ने व्यवस्था गर्ने तयारी गरेको हो ।

बीमा समितिका नव नियुक्त अध्यक्ष सुर्य प्रसाद शिलवालले बीमा लेख धितो राखी बैंकबाट कर्जा लिन रोक लगाउन राष्ट्र बैंकमा पत्राचार गरिएको जानकारी दिए ।

‘कम्पनीहरुलाई बीमा लेख धितो राखी बैंकबाट कर्जा लिन नमिल्ने व्यवस्था गर्न समितिको तर्फबाट गर्नु पर्ने काम गरिसकेको छौँ,’ उनले क्लिकमाण्डूसँग भने, ‘बैंकहरुलाई बीमा लेख धितामा कर्जा नदिन निर्देशन दिन अथवा आवश्यक सम्वन्य गर्ने राष्ट्र बैंकलाई पत्र यसैसाता पत्र पठाइएको हो ।’

पोलेसी बिक्री गर्ने कम्पनीहरुबाटै बीमितले बीमा लेख धितोमा कर्जा लिन पपाउने व्यवस्था भएपनि बैंकबाट कर्जा लिन नपाउने अध्यक्ष सिलवालले बताए ।

‘सम्बन्धीत बीमा कम्पनीले बीमितलाई बीमा लेख मुल्यांकन गरी धितोमा कर्जा दिन्छ,’ उनले थपे, ‘बैंकले बीमा लेख धितोमा ऋण दिनु भनेको कानुन विपरीत हो ।’
हालसम्म कानुन विपरित भएका कार्य रोक्न सो पहल गरिएको उनको भनाइ छ ।

राष्ट्र बैंकले विभिन्न शिर्षकमा बैंकहरुले कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरे अनुसार नै बीमा लेख धितोमा कर्जा प्रवाह भएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।
‘अन्तराष्ट्रिय अभ्यास नै बीमा लेख धितोमा कर्जा दिन पाउने छ, सोही अनुसार बैंकहरुले कर्जा प्रवाह गरेका हुन्, यसलाई गैर कानुनी भन्न मिल्दैन,’ उनले क्लिकमाण्डूसँग भने, ‘विभिन्न शिर्षकमा कर्जा दिनपाउने व्यवस्था राष्ट्र बैंकले नै गरेको हुँदा बैंकहरुको यस्तो अभ्यासलाई रोक लगाउछ जस्तो लाग्दैन ।’

बीमा कम्पनीहरुले बिक्री गरेका पोलिसी धितोमा राखेर हाल केही बैंकहरुले ‘सरेण्डर भ्याल्यु’ को निश्चित प्रतिशतसम्म कर्जा दिने गरेको उनले जानकारी दिए । सञ्चालनमा २७ वाणिज्य बैंकमध्ये ८/१० वटा बैंकले बीमा लेख धितोमा करिब १ अर्ब बढी कर्जा दिएको अनुमान उनको छ ।


क्लिकमान्डु