सेयर बजारको नयाँ खेलाडी बन्दै नेपाल ट्रष्ट, सूचिकृत कम्पनीको सेयरमा लगानी गर्ने निर्णय



काठमाडौं । पूर्वराजा बिरेन्द्र शाहको सम्पत्ति संरक्षण गर्न गठन गरिएको नेपाल ट्रष्ट अब सेयर बजारको नयाँ खेलाडी बन्ने भएको छ ।

२०६४ सालमा स्थापना भएको ट्रष्टले हालैमात्र बैंक तथा वित्तीय संस्था एवं नेप्सेमा सूचिकृत कम्पनीहरुको सेयरमा लगानी गर्ने निर्णय गरेको छ ।

ट्रष्टको यही माघ ११ गते बसेको सञ्चालक समितिको ७४औं बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय सेयर बजारमा लगातार उछाल आएपछि सेयर किनबेच गरी नाफा कमाउने उदेश्य ट्रष्टले लिएको छ ।

नेपाल ट्रष्ट नियमावली २०६५ को नियम ६ को उपनियम २ को खण्ड ‘घ’ बमोजिम ‘ट्रष्टलाई प्राप्त भएको रकम लगानी गरी कुनै बैंक तथा वित्तीय संस्था वा अन्य कुनै पब्लिक कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतसम्म सेयर खरिद गरी त्यस्तो कम्पनीको संस्थापक सेयरधनी हुने’ व्यवस्था छ ।

त्यसैगरी, खण्ड ‘च’ मा ‘ट्रष्टलाई आय आर्जन हुने भनी समितिले उचित ठहर्याएको अन्य कुनै कार्यक्रम वा आयोजनामा नेपाल सरकारको पूर्वस्वीकृति लिई लगानी गर्ने’ प्रावधान छ ।

सोही प्रावधान अनुसार ट्रष्टको सञ्चालक समितिले सूचिकृत कम्पनीको आइपीओ र सेयरमा लगानी गर्ने निर्णय गरेको हो ।

‘बैंक, वित्तीय संस्था वा अन्य कुनै पब्लिक लिमिटेडको शेयर खरिद गर्दा कार्यालयलाई लाभ पुग्ने देखिएमा त्यस्तो प्रस्ताव सञ्चालक समिति समक्ष पेश गर्न सैद्धान्तिक सहमति दिने,’ सञ्चालक समितिको निर्णयमा भनिएको छ ।

नेपालमा गणतन्त्र आएपछि बंशनास भएका तत्कालीन राजा बिरेन्द्रको सम्पत्ति संरक्षण गर्ने उदेश्यले नेपाल ट्रष्टको गठन गरिएको थियो । ट्रष्टको सम्पत्ति भाडामा लगाएर आम्दानी गर्दै आएको छ ।

०७६ फागुनमा सरकारले नेपाल ट्रष्टको सम्पत्ति सार्वजनिक गरेको थियो । जसअनुसार देशभरी २१ हजार ५६२ रोपनी ४ आना २ पैसा एक दाम जग्गा ट्रष्टसँग छ ।

त्यसैगरी ट्रष्टको नाममा चलअचल गरी ७८ करोड ९ लाख ९९ हजार ७९३ रुपैयाँ सम्पत्ति रहेको । र, १ लाख ४८ हजार ५८१ अमेरिकी डलर, ५० हजार १२४ पाउण्ड स्टर्लिङ डलर, नविल बैंकको ५ लाख ३३ हजार २४४ कित्ता सेयर, अन्नपूर्ण होटेलको ३० हजार ७२० कित्ता सेयर रहेको छ ।


पुष्प दुलाल